Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.50/5.00)
Text size:-
+
-

फिल्म सिटी बन्दा कलाकार सबैभन्दा खुशी हुन्छन् : भुवन केसी

फिल्मीखबर, काठमाडौं, 2023/01/01

चलचित्र विकास बोर्डले शुक्रबार दोलखा जिल्लाको लाकुरीडाँडामा निर्माणाधिन ‘अन्तर्राष्ट्रिय फिल्म सिटी’को अवलोकनका साथै अनुगमन गरेको छ । त्यस अवसरमा बोर्डले झण्डै ११ बर्ष अघिदेखि निर्माणप्रक्रिया थालिएको सिटीमा भएको प्रगति विवरण, नयाँ सम्भाव्यता, तीन तहका सरकार र निजी क्षेत्रसँगको लगानी सहकार्यको सम्बन्धमा स्थानीय सरकारसँग छलफल समेत गरेको छ ।

 

FDB Film City Anugaman


फिल्म सिटीको बोर्डका अध्यक्ष भुवन केसी, बोर्डका सदस्य राज कटुवाल, सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक मदनदास श्रेष्ठ, सञ्चार तथा सूचना मन्त्रालयका सहसचिव उत्तर कुमार खत्री, मन्त्रालयका उपसचिव सुरेन्द्र थापा, मन्त्रालयका उपसचिव तथा बोर्ड सदस्य सचिव टंक प्रसाद महत, मन्त्रालयका उपसचिव तथा बोर्डका सदस्य श्रीधर ज्ञवालीलगायतले अवलोकन गरेका हुन् ।

उक्त टोलीले फिल्म सिटी रहेको भिमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, उपप्रमुख कमला बस्नेत, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिप शंकर चौलागाईं, नगरपालिकाका कर्मचारीहरु, विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरुसँग फिल्म सिटीको लगानी सहकार्य, सिटीको महत्व, पर्यटन प्रवर्द्धन, रोजगारी र वरपर हुने व्यापारिक केन्द्रको विषयमा छलफल गरेको हो ।

 

FDB Film City Anugaman


बोर्ड अध्यक्ष केसीले भिमेश्वरमा फिल्म सिटी ल्याउनपर्छ भन्ने योजना अगाडि सार्ने कलाकार मदनदास श्रेष्ठ तथा सम्बन्धित सम्पूर्ण निकायहरुप्रति आभार व्यक्त गरे । ‘फिल्म सिटी बन्दा यो देशका सबै कलाकारहरु सबैभन्दा खुशी हुन्छन् । यो हरेक कलाकारको सपना मात्र नभएर सबै नेपालीमा यो सिटीलाई लिएर निकै उत्साह देखिएको छ । फिल्म सिटी एक छुट्टै संसार हो,’ केसीले भने ।

आफूले बलिउड र हलिउडमा देखेको फिल्म सिटीजस्तै यो फिल्म सिटी रहेको बताउँदै उनले फिल्म सिटीप्रति बोर्डले मात्र नभइ सरकारले पनि रुचि राखेको बताए । यसमा छिट्टै नेपाली तथा विदेशी फिल्म छायांकन भएको हेर्ने इच्छा रहेको उनको भनाई छ । केसीले ठूलो योजना भएकोले तुरुन्तै सम्पन्न नहुने बताउँदै सहकार्यको लागि सबै तहका सरकार तथा निजी क्षेत्रलाई आह्वान गरे ।

 

FDB Film City Anugaman


छलफलमा नगरपालिकाका प्रमुख मानन्धरले दोलखाबासीले यस फिल्म सिटीलाई सपनाको रुपमा हेरेको बताए । नगरपालिकाकी उपप्रमुख बस्नेतले फिल्म सिटी निर्माणका लागि स्थानीय सरकारले गर्ने सबै प्रयासहरु गरिरहेको बताइन् । मन्त्रालयका सहसचिव खत्रीले नेपाल आफैंमा फिल्म सिटी रहेको धारणा राख्दै नेपालको पहिलो फिल्म सिटी दोलखामा बन्न लागेकोमा खुसी व्यक्त गरे ।