Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

नीताको ‘ह्रस्व दीर्घ’मा गरिमाको प्रवेश

फिल्मीखबर, काठमाडौं, 2023/01/01

neeta dhungana and garima sharma

 

टिकटक हुँदै म्यूजिक भिडियोमा उदाएकी गरिमा शर्मा अब फिल्ममा जम्ने प्रयासमा छिन् । फिल्म ‘लण्डन टू पेरिस’बाट नायिकाको रुपमा डेब्यू गरेकी उनले दोस्रो फिल्मको रुपमा ‘ह्रस्व दीर्घ’मा काम गर्ने निश्चित भएको छ । नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा गरिमा कलाकारको रुपमा भित्रिएको जानकारी निर्मात्री नीता ढुंगानाले सामाजिक सञ्जालमार्फत् गराएकी छन् ।

नेपाल र भारतका कलाकारहरुको अभिनय रहने फिल्ममा नीता र उनका श्रीमान् हरिहर अधिकारीको पनि मुख्य भूमिका रहनेछ । द्वन्द्व निर्देशन तथा भोजपुरी फिल्म निर्देशनमा स्थापित चन्द्र पन्तले फिल्मको निर्देशन गर्न लागेका हुन् । उनले पहिलो पटक नेपाली फिल्म निर्देशन गर्न लागेका हुन् । ७ करोडभन्दा बढीको लागतमा निर्माण हुन लागेको फिल्मको सुटिङ नेपाल र भारतमा हुनेछ ।

फिल्ममा साउथ इन्डियन फिल्मका लोकप्रिय कलाकारहरु ब्रह्मानन्दम, ‘पुष्पा’का भिलेन सुनिल वर्मा, ‘गजनी’का भिलेन प्रदीपराज रावत र चर्चित कमेडी कलाकार अली अनुबन्ध भइसकेका छन् । भारतबाट अझै केही चलेका कलाकारलाई भित्राउने योजनामा निर्माण टिम छ । यो फिल्ममा विपना थापा, सरोज खनाल, सलोन बस्नेत, रविन्द्र झालगायतका कलाकारको पनि अभिनय रहनेछ ।

आगामी फेब्रुअरी १ देखि छायांकन सुरु हुने फिल्मलाई बलिउडका कवीरलालले छायांकन गर्नेछन् । भारतको रामोजी स्टुडियोमा खिचिने यो फिल्म नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुने जानकारी प्राप्त छ । यस वर्ष विवाह बन्धनमा बाँधिएका हरिहर र नीताको ‘ह्रस्व दीर्घ’ ड्रिम प्रोजेक्ट हो । उनीहरुले यो फिल्मलाई प्रतिष्ठित ओटीटी प्लेटफर्ममा पनि रिलिज गर्ने तयारी गरेका छन् ।