Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सरेको सर्‍यै ‘मनसँग मन’, अब माघ २७ मा

फिल्मीखबर, काठमाडौं, 2023/01/01

man sagha man movie

 

अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी स्टारर फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति पुनः पोस्टपोन्ड भएको छ । यसअघि पहिलो पटक २०७७ सालको चैत २७ गतेलाई प्रदर्शन मिति तोकिएको थियो । तर, कोरोना महामारीका कारण फिल्म रिलिज हुन पाएन । महामारी मत्थर भएपछि यस वर्षको माघ २० गतेलाई नयाँ प्रदर्शन मिति तोकियो । तर, फेरि फिल्मको रिलिज सरेको छ ।

निर्माण टिमले अंग्रेजी नयाँ वर्ष २०२३ तथा राष्ट्रिय टोपी दिवसको अवसर पारेर आगामी माघ २७ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । पुष्प अभिनीत फिल्म ‘तिम्रो मेरो साथ’ पुष २९ गते रिलिज हुन लागेकाले एक महिनाको ग्याप राख्न ‘मनसँग मन’लाई पूर्वनिर्धारित मितिभन्दा एकसाता पछाडि धकेलिएको हो । अब यो मितिबाट फिल्म नसर्ने निर्देशक कैलाश राईले जानकारी दिए ।

सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको संयुक्त ब्यानरमा अरुण तामाङले निर्माण गरेको फिल्ममा वर्षा र पुष्पका अलावा बुद्धि तामाङ, रविन्द्र झा, चाँदनी प्रधान, महेन्द्र बागदास, शन्ते दाल लगायतको पनि अभिनय रहेको छ । ‘चालबाज’ नाममा छायांकन भएको फिल्मको पछि नाम परिवर्तन गरेर ‘मनसँग मन’ राखिएको हो । फिल्मको कथा तथा पटकथा निर्देशक राईले लेखेका हुन् ।

सस्पेन्स तथा लभस्टोरी कथामा निर्माण भएको फिल्मको अधिकांश छायांकन दार्जिलिङमा भएको हो । फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन जिसीको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र सन्तोष खवासको द्वन्द्व निर्देशन छ । पहिलो पटक पुष्प र वर्षाले एकसाथ फिल्ममा काम गरेका हुन् । फिल्मको ‘मेरो त भाग्य’ बोलको गीतमा पल शाह र पूजा शर्माले नृत्य गरेका छन् ।