Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्यूएफएक्सले निर्माता बचाउन खोजेको कि आफू बच्न ?

फिल्मीखबर, काठमाडौं, 2022/12/30

कुनै बेला काठमाडौंका गोपीकृष्ण, विश्वज्योति, अष्टनारायण जस्ता हलबाट निर्माताले सर्वाधिक शेयर हात पर्ने गरेका थिए । केही वर्षयता नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले यसको बिडो उठाएको छ । क्यूएफएक्समा मात्रै पनि फिल्मले राम्रो व्यापार गरे निर्माताको लगानी सुरक्षित हुने अवस्था छ । काठमाडौंभित्र ५ र मोफसलमा ६ वटा स्टेशनमा यसका स्क्रिन छन् ।

तर, क्यूएफएक्समा फिल्म लगाउन निर्मातालाई सोचे जस्तो सजिलो भने छैन । क्यूएफएक्सको म्यानेजमेन्ट टिमले त्यस फिल्मका कलाकारको स्टारडम र अघिल्लो फिल्मले गरेको व्यापार, निर्देशक र निर्माताको अघिल्लो फिल्मको व्यापारिक नतिजा हेरेर मात्र शो बाँडफाँड गर्छ र फिल्म हेरिसकेपछि चलाउने वा नचलाउने निर्णय गर्छ । त्यसैले क्यूएफएक्समा फिल्म चलाउन सहज छैन ।

 

QFX Cinemas


देशकै ठूलो मल्टीप्लेक्स चेन भएकाले क्यूएफएक्स बेला बखतमा फिल्मकर्मीको निशानामा पनि पर्ने गरेको हुन्छ । कसैले राम्रो शो नदिएको त कसैले शो टाइम कुबेलाको भएको भन्दै गुनासो पोख्छन् । अब यी कुराबाट बच्न क्यूएफएक्स टिमले एउटा मितिमा ठूला ब्यानर र ठूला स्टारको एक मात्र फिल्म प्रदर्शन गर्ने भएको छ । यो निर्णयलाई कसैले समर्थन त कसैले विरोध गरेका छन् ।

फिल्म जुधाउने परम्परा अन्त्य गर्न यो निर्णय गरिएको क्यूएफएक्स सञ्चालकको भनाई छ । एक हिसाबले यो सही हो । निर्माताहरु आ-आफैं जुधेर दोष हलवाला र वितरकमाथि थोपार्ने प्रवृति व्याप्त छ । क्यूएफएक्स चेन त यसको बारम्बार शिकार नै भइसकेको छ । यसैले एउटा मितिमा ठूलो फिल्म एउटा मात्र रिलिज गर्ने क्यूएफएक्स टिमको निर्णय निर्माताका लागि पनि हितकारी नै छ ।

तर, यो निर्णय गरिरहँदा नेपाली फिल्मसँग विदेशी फिल्म नजुधाउने परम्परा पनि क्यूएफएक्सले अन्त्य गर्न सक्नु पर्छ । सम्भवतः यो निर्णय क्यूएफएक्सले बेहोसीमा पनि गर्न सक्दैन । व्यापारको कुरा न छ । किनकि, प्रदर्शकलाई नेपालीभन्दा विदेशी फिल्ममाथि बढी भरोसा हुन्छ । तर, विदेशी फिल्मले नेपाली फिल्मलाई पारेको असरबारे क्यूएफएक्स टिम कहिल्यै चिन्तत हुन सकेको छैन ।

नेपाली फिल्मसँग विदेशी फिल्म जुधाउन मिल्ने नीति बोक्दासम्म क्यूएफएक्स चेनले एउटै मितिमा दुई ठूला नेपाली फिल्म जुधाउन नपाउने निर्णय गर्नु आफैंमा विरोधाभास हो । यसले फिल्म क्षेत्रमा फोहोरी राजनीतिको जन्म गराउनेमा दुईमत छैन । क्यूएफएक्स म्यानेजमेन्ट टिमको आफू अनुकूलको यो निर्णयलाई चलचित्र विकास बोर्डले छलफलमार्फत् समाधान गर्न अत्यन्त आवश्यक छ ।