
फिल्म ‘सिम्बा’पछि बलिउड सुपरस्टार रणवीर सिंहको स्टारडमको जादू बक्सअफिसमा देखिन सकेको छैन । अघिल्लो वर्षको ‘८३’ र यस वर्ष रिलिज भएको ‘जयेशभाई जोरदार’ दुवै फिल्म व्यवसायिक रुपमा असफल भएका थिए । यो सूचिमा फिल्म ‘सर्कस’ पनि थपिने लगभग निश्चित देखिएको छ । १ सय ५० करोडमा बनेको फिल्मले लगानीको आधा हिस्सा पनि उठाउन नसक्ने पक्का छ ।
अघिल्लो हप्ता प्रदर्शनमा आएको फिल्मले एक हप्तामा ३० करोड ४० लाखको कमाई गरेको छ । बिहीबार फिल्मले २ करोड १० लाखको कमाई गरेको ट्रेड एनालिस्टले उल्लेख गरेका छन् । रणवीरको स्टारडमको हिसाबमा फिल्मको यो कमाईलाई अत्यन्त निराशाजनक मानिएको छ । दिनप्रतिदिन कलेक्सनमा भारी गिरावट आइरहेकाले फिल्म ४० करोड आसपासमा थन्किने देखिन्छ ।
‘सर्कस’ ६० को दशकको प्लटमा बनेको हो, जसमा केही सिनले हाँसोको वर्षा गर्छ । तर, झुर पटकथाका कारण फिल्म असफल बन्न पुगेको हो । यो फिल्मलाई निर्देशक रोहित सेट्टी र रणवीर सिंहको करिअरकै कमजोर फिल्मको रुपमा टिप्पणी गरिएको छ । लगातार तीन फिल्म फ्लप हुँदा रणवीरको करिअरमा संकटको बादल छाएको छ । अब उनी फिल्म छनोटमा गम्भीर हुनुपर्नेछ ।
‘सर्कस’लाई रोहितले आफ्नो ‘गोलमाल’ फ्रेन्चाइज जस्तै सिचुएशनल कमेडीमा तयार पारेका छन् । फिल्ममा रणवीर सिंह र वरुण शर्मा डबल रोलमा छन् । फिल्ममा रणवीरको एक चरित्रलाई इलेक्ट्रिक म्यान बनाइएको छ, जसलाई विजुलीको झट्काको कुनै असर हुँदैन । रोहितले ६० को दशकलाई जीवन्त बनाउने कोशिस गरेको भएतापनि अनावश्यक रंगको प्रयोगले आँखा विझाउँछ ।

