Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुबईमा ‘नेपाली सिनेमा फेस्ट’ गर्दै चलचित्र विकास बोर्ड

फिल्मीखबर, काठमाडौं, 2022/12/29

चलचित्र विकास बोर्डले ‘टेकिङ नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित दुबईमा ‘नेपाली सिनेमा फेस्ट २०२३’को आयोजना गर्ने भएको छ । बोर्डले निजी कम्पनी सुर्य कर्पोरेशनसँग सहकार्य गरेर फेस्टिभल आयोजना गर्न लागेको हो । बिहीबार बोर्डमा एक कार्यक्रमका बीच अध्यक्ष भुवन केसी र कर्पोरेशनका सिइओ बाशुदेव लामिछानेबीच सम्झौताको कागजपत्र आदान-प्रदान भयो ।

 

Nepali Cinema Fest 2


दुबईमा आगामी फागुन १ देखि ३ गतेसम्म यो कार्यक्रम हुनेछ । सूचना तथा सञ्चार मन्त्रालयका सचिव र बोर्डका अध्यक्षबीचको कार्ययोजना अनुसारको बोर्डको बार्षिक कार्यक्रम अन्तर्गत निजी क्षेत्रसँगको सहकार्यमा अन्तराष्ट्रिय स्तरमा कार्यक्रम आयोजना हुने शिर्षकमा यो कार्यक्रम आयोजना हुन लागेको हो । यो कार्यक्रम बोर्डद्वारा आयोजना हुने अन्तराष्ट्रियस्तरको पहिलो कार्यक्रम हो ।

तीन दिने कार्यक्रममा अरबी भाषामा सबटाईटाल गरी नेपाली फिल्मको प्रदर्शनी, नेपालबाट जाने तथा युएईमै रहने कलाकारहरुको विभिन्न प्रस्तुतीहरु, युएईमा नेपाली फिल्मको बजार विस्तार तथा छायांकन सुविधा पहलको लागि त्यहाँको सरकारका प्रतिनिधिहरु, त्यहाँस्थित नेपाली दुतावास, व्यापारी, बिशिष्ट व्यक्ति तथा कलाकर्मीहरूबीच अन्तर्क्रिया हुने बोर्ड अध्यक्ष केसीले जानकारी दिए ।

 

Nepali Cinema Fest 2


कार्यक्रममा अध्यक्ष केसीले अन्तराष्ट्रिय स्तरमा नेपाली फिल्मको बजार विस्तारको पहलको लागि सुरु गरिएको यो कार्यक्रम नेपाली फिल्म उद्योगको लागि महत्वपूर्ण रहेको बताए । युएईमा नेपाली फिल्मको सेन्सरमा सहजता ल्याउन, निरन्तर फिल्म प्रदर्शनको वातावरण मिलाउन, युएई र नेपालको कला-संस्कृतिको सहकार्यताको लागि यो कार्यक्रमले ठूलो भूमिका खेल्ने उनको विश्वास छ ।