
पाँच दिनअघि युट्युबमा सार्वजनिक भएको सञ्जय गुप्ताको पोडकास्टमा विराज भट्ट जत्तिको नेचुलर एक्सन गर्ने हिरो नेपालमा अरु नभएको भन्ने अभिव्यक्तिले अभिनेता आर्यन सिग्देल विवादित बनेका छन् । उनले अभिनेता निखिल उप्रेतीलाई बेवास्था गरेको भन्दै सामाजिक सञ्जालमा उनी र शुक्रवारबाट प्रदर्शन हुन लागेको फिल्म ‘डिसेम्बर फल्स’विरुद्ध बहिष्कार अभियान नै चलिरहेको छ ।
आफ्नो अभिव्यक्तिले फिल्मलाई नै असर गर्ने संकेत पाएपछि आर्यनले बिहीबार फेसबुकमा स्टाटस लेख्दै स्पष्टिकरण दिएका छन् । उनले विराज भट्ट र निखिल उप्रेतीसँग कुनै पनि दुश्मनी नभएको र दुवै नेपाली फिल्मको ‘एक्सन किङ’ रहेको बताएका छन् । आफूले विराज भट्टभन्दा निखिल उप्रेती ठूलो र निखिल उप्रेतीभन्दा विराज भट्ट ठूलो भन्न नखोजेको पनि उनले स्पष्ट पारेका छन् ।
उनले लेखेका छन्, ‘विराज दाईको आवाज र एक्सन फाइट दमदार लाग्छ भने निखिल दाईको एक्सन स्टन्ट झनै खत्रा । टेक्निकल रुपमा निखिल अब्बल हुनुहुन्छ । त्यसैले मैले कसैको पनि तुलना गर्न खोजेको थिएनँ र गरेको पनि होइन । नेपालमा टेक्नोलोजी र स्टन्ट एक्सन भित्राउने निखिल दाई नै हुनुहुन्छ भने विराज दाई नेचुलर एक्सन किङ । दुवै मेरा लागि उतिक्कै सम्मानित हुनुहुन्छ ।’
उनले आफूबाट केही गलत भएको भए क्षमा मागेका छन् । ‘निखिल दाई र विराज दाई मेरा निकै आत्मीय साथी मात्र नभई हामी एकदमै नजिकका पारिवारिक साथी पनि हौं । यदी मबाट भुलचुक केही नराम्रो सन्देशहरू तपाईंले पाउनु भएको छ भने त्यसलाई बेवास्था गरिदिनुहुन अनुरोध गर्दछु,’ उनले लेखेका छन् । अभिनेता आर्यनको निखिल र विराज दुवैसँग अत्यन्त हार्दिक सम्बन्ध छ ।

