Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

पर्यटन प्रवर्द्धनका लागि पोखरा र मुस्ताङमा ‘जय हो’ खिचिने

फिल्मीखबर, काठमाडौं, 2022/12/29

salon basnet and shovit basnet

 

अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म ‘जय हो’को पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकीय नगरी पोखरा र मुस्ताङमा छायांकन गरिने भएको छ । फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेत, निर्देशक टेक पौरखी राई र अभिनेता सलोन बस्नेतले हालै पोखरा र मुस्ताङको भ्रमण गर्दै लोकेशन ‘लक’ गरेका हुन् । मुस्ताङमा ९० प्रतिशत र पोखरामा १० प्रतिशत फिल्मको छायांकन हुनेछ ।

प्रस्तुतकर्ता बस्नेतले संसारलाई नेपालको सुन्दरता देखाउनका लागि फिल्मको छायांकन पोखरा र मुस्ताङमा गर्न लागेको जानकारी दिए । उनले भने, ‘हाम्रो उद्देश्य फिल्म बनाउनु मात्र होइन, देशलाई संसारमा चिनाउनु पनि हो । पोखरा र मुस्ताङ सुन्दरताका खानी हुन् र यसलाई प्रवर्द्धन गर्नु हाम्रो जिम्मेवारी हो । कथाले पनि सुन्दर लोकेशन नै खोजेकाले हामीले यी दुई ठाउँ रोजेका हौं ।’

सुरेश न्यौपानेको कथा रहेको फिल्ममा अहिलेसम्म सलोन मात्र फाइनल भएका छन् । अन्य कलाकार र मुख्य अभिनेत्रीको छिट्टै टुंगो लाग्ने निर्माण पक्षले बताएको छ । एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्ममा शम्भुजित बाँस्कोटा र सागर आले मगरको गीतमा संगीत रहनेछ । आगामी माघ अन्तिम सातादेखि फिल्मको छायांकन थाल्ने तयारीमा निर्माण टिम रहेको छ ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘जय हो’मा राज के अधिकारी र सुरज सरकार निर्मातामा छन् । अधिकारी र सरकार जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । फिल्ममा राम्जी राउत क्रियटिभ निर्देशकमा रहनेछन् । विवाहपछि छायांकनमा फर्किन लागेका सलोन ‘जय हो’लाई लिएर उत्साहित छन् । फिल्म राम्रो बन्ने उनको विश्वास छ ।