Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वास्थ्य बीमाको रकम पाउने रामचन्द्र पहिलो कलाकार

फिल्मीखबर, काठमाडौं, 2022/12/28

विशिष्ट श्रेणीको परिचयपत्रधारी चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको रकम प्राप्त गर्ने पहिलो कलाकार रामचन्द्र अधिकारी बनेका छन् । राष्ट्रिय बीमा कम्पनीले उपलब्ध गराएको ४६,६०० बुधबार बोर्ड अध्यक्ष भुवन केसीले अधिकारीलाई प्रदान गरे । सो कार्यक्रममा मदनदास श्रेष्ठ, दिनेश डिसी, पूजा शर्मा, बोर्ड सदस्य प्रकाश भट्टराई उपस्थित थिए ।

विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई बोर्डले स्वास्थ्य बीमाको कार्यक्रम ल्याएको थियो । यस कार्यक्रम अन्तर्गत विशिष्ट परिचयपत्र पाउने १०२ जना चलचित्रकर्मीमध्ये ९८ जनाको बीमा गरिएको थियो । चालु बीमा कार्यक्रम अन्तर्गत अस्पतालमा भर्ना भई उपचार गर्नुपर्दा ६५ हजार र भर्ना नभई उपचार गर्नुपर्दा ३५ हजारसम्म गरी एक लाख प्राप्त गर्न सकिन्छ ।

 

ramchandra adhikari


राष्ट्रिय बीमा कम्पनीका प्रतिनिधि धर्म भण्डारीले यो बीमा सुविधा लिन योग्य सबैलाई रकम दाबी गर्न अनुरोध गरे । बीमा गरेको ६-७ महिनामा बल्ल एकजनाले दाबी गरेको बताउँदै भण्डारीले थोरै नै रकम भएपनि दाबी पेश गरेपछि २४ घण्टाभित्र बोर्डमा उक्त रकम उपलब्ध गराउने बताए । बीमा रकम पाएपछि खुसी देखिएका अधिकारीले चलचित्र विकास बोर्डलाई धन्यवाद व्यक्त गरे ।

बोर्ड अध्यक्ष भुवन केसीले सानो रकमले धेरै समस्या समाधान नहुने भएपनि यो एउटा सुरुवात भएको बताएका छन् । उनले भने, ‘सकेसम्म कसैलाई पनि स्वास्थ्य समस्या नआओस् तर पनि त्यो कुरा हाम्रो हातमा हुँदैन । यति रकमले त केही पनि हुँदैन । यद्यपि यो एउटा सुरुवात मात्र हो । योभन्दा ठूला घटना भईहाले पनि त्यसमा केही गर्न सकौँ भनेर बोर्ड सँधै संवेदनशील र गम्भीर छ ।’