रमेश एमके पौडेलको डेब्यू निर्देशित फिल्म ‘तिम्रो मेरो साथ’को तेस्रो गीत सार्वजनिक भएको छ । ‘झिलमिल झिलमिल’ बोलको रोमान्टिक थिमको गीतमा फिल्मका अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड छन् । गीतले उनीहरुको प्रेम आशक्ति बोल्छ । भिडियोमा यो जोडीको केमेस्ट्री गजब सुहाएको देखिन्छ । साम्राज्ञीलाई बोल्ड र स्टाइलिस देखाइएको छ ।

निर्देशक पौडेल स्वयंको शब्द रचना रहेको गीतमा योगेश काजी शाहकको संगीत तथा सुगम पोखरेल र मेलिना राईको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । फिल्म यसअघि सार्वजनिक टिजर, गीत तथा ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । जसले निर्माण टिमलाई हर्षित बनाएको छ । फिल्म पुष २९ गतेबाट प्रदर्शन हुँदैछ ।
सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको फिल्ममा इमिली लामा सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतको पनि अभिनय छ । फिल्ममा शिव ढकालको छायांकन र भुपेन्द्र अधिकारीको सम्पादन छ । पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेल निर्माता रहेको फिल्मको सहनिर्मातामा निरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल, सुधिर पराजुली छन् ।
फिल्म रिलिज नजिकिँदै गर्दा निर्माण टिम यतिबेला मोफसल यात्रामा छ । मंगलवार पोखराबाट सुरु भएको मोफसल यात्रा बुटवल, नारायणगढ, हेटौंडा, विराटनगर र बिर्तामोड पुगेर पूर्णविराम लाग्नेछ । मोफसल यात्रामा निर्देशक पौडेल, कलाकारहरु साम्राज्ञी आरएल शाह, पुष्प खड्का र सन्दिप क्षेत्री छन् । प्रेम र मित्रतामा विश्वासघात भएपछि उत्पन्न हुने परिस्थितिमा फिल्म केन्द्रित छ ।

