स्वदेशी र विदेशी फिल्म प्रदर्शनको एक हप्ता अगाडि सेन्सर सिफारिस लिनुपर्ने, साँझको ११ बजेपछि फिल्म प्रदर्शन गर्न नपाउने जस्ता चलचित्र विकास बोर्डको निर्णयविरुद्ध नेपाल चलचित्र संघले पुष १२ गतेदेखि चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । सूचना तथा सञ्चार मन्त्रालयमा ज्ञापन पत्र बुझाउनेदेखि बोर्डमा तालाबन्दी गर्नेसम्मको कार्यक्रम संघले तय गरेको थियो ।
तर, सोमवार बसेको बोर्डको बैठकले साँझ ११ बजेपछि फिल्म प्रदर्शन गर्दा शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले फिल्म प्रदर्शन गर्नुपर्ने र प्रदर्शनको चार दिन अगाडि मात्र सेन्सर सिफारिसका लागि दरखास्त पेश गर्दा हुने नयाँ निर्णय गरेपछि संघले आन्दोलनका कार्यक्रमहरु स्थगन गरेको छ । संघले बोर्डको नयाँ निर्णयलाई स्वागत गर्दै आन्दोलनका कार्यक्रम रोकेको हो ।

संघका महासचिव नरेन्द्र महर्जनले भने- ‘एउटा पक्ष आन्दोलनमा रहँदा राज्यले त्यो कुराको सम्बोधन गरेपछि आन्दोलन गर्नुको अर्थ रहँदैन । तर, हाम्रो अरु पनि मागहरु छन्, जुन गर्न सक्ने बोर्डले गर्छ नभए मन्त्रालयले गर्ने भन्नेमा हामी पुगेका छौं । बोर्डले हाम्रो लगभग सबै माग पूरा गरेको छ । एउटा माग पूरा गर्न पुष मसान्तसम्मको समय मागिएको छ । त्यो पनि पूरा हुनेमा विश्वस्त छौं ।’
फिल्म प्रदर्शनको चार दिन अगाडि सेन्सर सिफारिस लिनुपर्ने बोर्डको निर्णयलाई वितरकहरुले स्वीकार गरेको महर्जनले जानकारी दिए । हल व्यवसायी समेत रहेका उनले भने, ‘यो निर्णयले हल व्यवसायीहरुलाई पनि राहत मिलेको छ । किनकि, बुधबारसम्म शो बाँडफाँड भइसकेको हुन्छ । बिहीबार कसैले फिल्म ल्यायो भने हामीलाई पनि गाह्रो हुन्थ्यो । त्यसैले बोर्डको यो निर्णय राम्रो छ ।’
उनले आगामी दिनमा छलफलमार्फत् निर्णय गर्न बोर्डलाई आग्रह गरेका छन् । ‘सेन्सर सिफारिस ७ दिन नगरी ४ दिन गरौं भनेको भए यो विवाद नै हुँदैन थियो । बोर्डले एकलौटी ढंगले निर्णय गरेपछि हामी आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएका थियौं,’ महर्जनले अगाडि भने, ‘बोर्डले हाम्रा मागहरु सम्बोधन नगरेको भए ठूलै आन्दोलन गर्ने थियौं । ढिलै भएपनि माग सम्बोधन भयो ।’

