
अभिनेत्री सुहाना थापाले फिल्म वितरणमा फड्को मारेकी छन् । उनी सिइओ रहेको त्रिनेत्रम डिस्ट्रिब्युसनले फिल्म ‘गुलाबी’लाई देशभर वितरण गर्न लागेको हो । मंगलवार सुहाना र फिल्मकी निर्देशक समुन्द्र भट्टबीच सम्झौता पत्र आदान-प्रदान भएको छ । मंगलवार नै फिल्मको डिजिटल राइट्स पनि विक्री भएको छ । ओएसआर डिजिटलले फिल्मको युट्युब राइट्स खरिद गरेको हो ।
दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा नाजिर हुसैन मुख्य भूमिकामा छन् । पारलैङ्गिकताको कथा बोल्ने फिल्ममा सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाको पनि अभिनय छ । फिल्मको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन् ।
‘गुलाबी’लाई आलोक शुक्लाले छायांकन गरेका हुन् । भद्र भुजेल एसोसिएट निर्देशक रहेको फिल्ममा सम्राट बस्नेत द्वन्द्व निर्देशक छन् भने लेखु सहयात्री र शान भुषालले गीतमा संगीत भरेका छन् । फिल्मको प्रदर्शन मिति घोषणा भइसकेको छैन । क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन पढेकी भट्टले फिल्म ‘आधा पेज’बाट निर्देशनमा डेब्यू गरेकी थिइन् । यो उनको दोस्रो फिल्म हो ।

