अभिनेत्री प्रियंका कार्कीलाई ‘आलु अभिनेत्री’ भन्ने गरिन्छ । उनी जुनसुकै जनरा र जोसुकै कलाकारसँग सजिलै फिट हुन सक्छिन् । उनले नचाखेको जनरा सम्भवतः छैन । नेपाली कलाकारको कमै रोजाईमा पर्ने गरेको हरर जनरामा पनि उनको राम्रो अनुभव छ । ‘आवरण’ र ‘माला’ उनका दुई हरर फिल्म हुन् । अब यो सूचिमा ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ पनि थपिएको छ ।
पुष २२ गतेबाट प्रदर्शनमा आउन हुन लागेको यो फिल्मप्रति उनलाई ठूलो विश्वास छ । अघिल्ला हरर फिल्ममा साउन्डमा चुकेको अनुभव संगालेकी उनले ‘चि मुसी चि’ यो मामलामा उत्कृष्ट रहेको दाबी गरेकी छन् । हरर फिल्ममा साउन्डको भूमिका महत्त्वपूर्ण हुने भएकाले धेरै हरर फिल्म यसमै विग्रने गरेको उनको भनाई छ । तर, यसपटक साउन्डमा राम्रो काम भएको उनको दाबी छ ।

‘मैले जति फिल्म हेरेको छु, साउन्डमा एकदमै राम्रो काम भएको छ । ‘यसका लागि निर्देशक र निर्मातालाई ‘स्ट्यान्डिङ ओभेसन’ दिनुपर्छ,’ उनी भन्छिन्, ‘स्क्रिप्ट आफैंमा राम्रो थियो । टिम पनि राम्रो भएकाले काम राम्रो निस्किएको छ ।’ काटमारवाला हरर फिल्मको अपेक्षा ‘चि मुसी चि’बाट नगर्न अनुरोध गर्दै प्रियंकाले फिल्ममा हरर भए पनि जतिबेला पनि नतर्साउने स्पष्ट पारेकी छन् ।
नामले फिल्मको कथालाई न्याय गरेको उनको तर्क छ । ‘नामले फिल्मको कथालाई न्याय गरेको छ जस्तो लाग्छ । जसरी ट्रेलरमा बच्चाको उपस्थिति देखिन्छ र चि मुसी चि गाइएको छ त्यसरी आफ्नो बच्चालाई चाहिँ गाएर नसुनाउनु होला । त्यो हररका लागि मात्र ठीक छ । ट्रेलरले फिल्म बच्चामा आधारित छ भन्ने बुझाइसकेकाले नामले कथालाई न्याय गरेको छ भन्ने लाग्छ,’ उनले भनिन् ।
मर्ण जेम्स र यश सैनीले मिलेर निर्देशन गरेको फिल्ममा प्रियंकासँगै आयुष्मान देशराज जोशी, ऋचा शर्मा, बेनिशा हमाल, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट, विज्ञ नेपाल, विभुती नेपालको पनि अभिनय छ । फिल्मको निर्मातामा रिञ्जु केसी र प्रस्तुतकर्तामा अरुण चक्रावर्ती छन् । उत्कृष्ट हरर तथा थ्रिलर फिल्म हेर्ने दर्शकको चाहनालाई ‘चि मुसी चि’ले पूरा गर्ने निर्माण पक्षको दाबी छ ।

