८०-९० को दशकमा नेपाली बालबालिकामाझ सर्वाधिक रोजाईमा परेको चकलेट थियो, ल्याक्टो । सस्तो र खोल तन्काएर एक हात लामो बनाए अरु ल्याक्टो पाइने भएकाले यो चकलेटले लामो समय राज गर्यो । वृद्ध हुन् वा बालबालिका, हरेक समुहका मानिसले यो चकलेटको स्वाद चाखेका छन् र यसको उत्पादन बन्द भएको वर्षौं भएपनि अझैसम्म त्यसको स्वाद जिब्रोले विर्सिसकेको छैन ।
अभिनेता आर्यन सिग्देलको प्रशंगमा ल्याक्टो चकलेटको गुनगान चाहिँ किन गाइयो भन्न लाग्न सक्छ । उनलाई ल्याक्टो चकलेटसँग दाँज्नुको कारण आर्यनलाई चकलेटी हिरो भन्ने गरिन्छ र कुनै समय ल्याक्टो चकलेट जस्तै फिल्ममा उनको हालीमुहाली नै थियो । र, बजारमा अरु प्रतिस्पर्धी चकलेट आउँदा ल्याक्टो विस्तारै विस्थापित भयो, आर्यन पनि अरु प्रतिस्पर्धीहरु जन्मिन थालेपछि सेलाए ।
सोमबार साँझ प्रशारण भएको ‘कमेडी क्लब’मा आफ्नो फिल्म ‘डिसेम्बर फल्स’को प्रचार गर्न पुगेका आर्यनलाई कमेडियन कैलाश कार्कीले पनि ल्याक्टो चकलेटसँग तुलना गरे । उनले आर्यनलाई ल्याक्टो चकलेटको पालाको हिरो भन्दै रोस्ट हाने । आर्यन पुराना चकलेटी हिरो हुन् भन्ने कैलाशको रोस्टको आशय थियो । आर्यन मज्जैले हाँसे । उनले हाँसोमार्फत् रोस्टलाई ग्रहण गरेको देखियो ।
कैलाशले आर्यनलाई रोस्ट हान्दै अर्को पनि एउटा अर्थपूर्ण वाक्य बोलेका छन्, ‘बजारमा अहिले दुई/तीनवटा डेयरी मिल्क आएर ल्याक्टोलाई सिध्याए नि हैन ?’ यसको आशय नयाँ छिमलका केही चकलेटी हिरोहरुले आर्यनलाई विस्थापित गर्न खोजेको भन्ने हो । कैलाशको यो रोस्टमा पनि आर्यन बेजोडले हाँसे । उनले पनि सानदार जवाफ फर्काए- ‘केही छैन ‘रिप्याकेजिङ’ भएर आउँदैछ ।’
आर्यनले ‘रिप्याकेजिङ’ शब्दमार्फत् आफू परिमार्जित भएर आएको आशय व्यक्त गरेका छन् । र, पुनः आफ्नो सशक्त उदय हुनेमा उनको आत्मविश्वास देखिन्थ्यो । उनी कति ‘रिप्याकेजिङ’ भएर आएका छन् त्यसका लागि भने पुष १५ गतेसम्म पर्खिनै पर्ने हुन्छ । ‘डिसेम्बर फल्स’मार्फत् उनले आफू ‘रिप्याकेजिङ’ भएर आएको प्रमाणित गर्न जरुरी पनि छ । यो फिल्म उनको अग्नि परिक्षा हो ।

