
भाइटीकाको भोलीपल्टबाट प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘महापुरुष’पछि नेपालका हलमा दर्शकको चाप कम हुँदै गएको छ । मंसिरमा रिलिज भएका नेपाली फिल्म दर्शक अभावले हलमा एक हप्ता पनि टिक्न सकेनन् । यसको कारण कतिपयले संघीय निर्वाचनको माहोल, बढ्दो चिसो र वर्ल्ड कपलाई माने । तर, हलमा दर्शक तान्न नसकेका नेपाली फिल्म आफैंमा कमजोर थिए ।
मंसिर महिना लगभग सुनसान रहेका हललाई हलिउडको प्रतिक्षीत फिल्म ‘अवतार’ले भने पूर्नजीवन दिने काम गर्यो । पुष १ गते प्रदर्शनमा आएको फिल्मले पहिलो हप्ता नेपालमा राम्रै पैसा छाप्यो । पहिलो साता नेपालमा फिल्मले ४ करोड ग्रस कलेक्सन गरेको जानकारी प्राप्त छ । जाडोको मौसममा यो अंक आफैंमा सुखद् हो । तर, दोस्रो साताबाट फिल्मको व्यापार धेरै खस्किएको छ ।
मल्टीप्लेक्सहरुमा बुकिङको अनुपात हेर्दा ‘अवतार’प्रति दर्शकको रुचि घट्दै गएको देखिन्छ । तथापि, फिल्मलाई दर्शकको खडेरी लागेको छैन । यही शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘सर्कस’ भने टाँट पल्टिएको छ । खराब रिभ्यू आउँदा फिल्मले भारतसँगै नेपालमा पनि दर्शकको अभाव झेलेको छ । यो फिल्मलाई मल्टीप्लेक्सहरुले ठूलो विश्वास गरेर पर्याप्त शो दिएका थिए ।
‘अवतार’ र ‘सर्कस’को भयले दुई साता नेपाली फिल्म प्रदर्शनमा आएनन् । अब आगामी शुक्रवार अभिनेता आर्यन सिग्देल अभिनीत फिल्म ‘डिसेम्बर फल्स’ रिलिज हुँदैछ । गीतसंगीत, टिजर र ट्रेलरले राम्रो हाइप निर्माण गरेका कारण यो फिल्मले हलमा उल्लेख्य दर्शक तान्न सक्ने अपेक्षा गरिएको छ । यो महिना ‘चि मुसी चि’, ‘तिम्रो मेरो साथ’ जस्ता आशातित फिल्महरु पनि प्रदर्शन हुँदैछन् ।

