
एक समयकी सर्वाधिक सफल अभिनेत्री विपना थापाले करिब १६ वर्षपछि फिल्ममा कमब्याक गर्ने भएकी छन् । नेपाल र भारतमा छायांकनको तयारी भइरहेको फिल्म ‘ह्रस्व दीर्घ’मा उनी मुख्य भूमिकामा अनुबन्ध भएकी हुन् । फिल्म सम्झौता गरेपछि विपनाले फेसबुकमा आफूलाई डर लागिरहेको उल्लेख गरेकी छन् । उनी विवाह बन्धनमा बाँधिएपछि अभिनयबाट पूर्ण रुपमा टाढा थिइन् ।
फिल्मको टिमले विपिनसँग अनलाइनमार्फत् सम्झौता गरेको हो । भारतीय नागरिकसँग विवाह गरेकी उनी मथुरामा बस्ने गरेकी छन् । उनको एक छोरा पनि छन् । उनी बेला बखतमा नेपाल आइरहेकी हुन्छिन् । कुनै बेला नेपाली फिल्ममा एकछत्र राज गरेकी उनले ‘मुग्लान’, ‘मितिनी’, ‘गाउँले’, ‘माइली’, ‘परदेशी’, ‘अप्सरा’, ‘आफ्नो मान्छे’ लगायत ५० बढी फिल्ममा अभिनय गरेकी छन् ।
आगामी फेब्रुअरी १ देखि छायांकन सुरु हुने ‘ह्रस्व दीर्घ’लाई द्वन्द्व निर्देशनमा स्थापित चन्द्र पन्तले एक्सन-कट गर्दैछन् । फिल्मलाई अभिनेत्री नीता ढुंगाना र उनका श्रीमान् तथा अभिनेता हरिहर अधिकारीले निर्माण गर्न लागेका हुन् । नीता फिल्मस्को ब्यानरमा बन्ने यो फिल्ममा उनीहरुको पनि मुख्य भूमिका रहनेछ भने कलाकारद्वय सरोज खनाल र सलोन बस्नेत पनि अनुबन्ध भइसकेका छन् ।
फिल्ममा नेपालीसँगै साउथ इन्डियन फिल्मका प्रख्यात कलाकारहरु ब्रह्मानन्दम, ‘पुष्पा’का भिलेन सुनिल वर्मा, ‘गजनी’का भिलेन प्रदीपराज रावत र चर्चित कमेडी कलाकार अली अनुबन्ध भइसकेका छन् । फिल्मलाई बलिउड छायाँकार कवीरलालले छायांकन गर्नेछन् । फिल्मलाई भारतको रामोजी स्टुडियोमा छायांकन गरिने बताइएको छ । ‘ह्रस्व दीर्घ’ हरिहर र नीताको ड्रिम प्रोजेक्ट हो ।

