.jpg)
गत असोज २८ गते नेपालमा प्रदर्शन भएको मल्टीस्टारर फिल्म ‘हिजो आजका कुरा’ले यतिबेला विदेशको फन्को लगाइरहेको छ । अमेरिकाबाट सुरु भएको विदेश प्रदर्शन यात्रा अष्ट्रेलिया आइपुगेको छ । फिल्मको प्रदर्शनका लागि दुई साताअघि निर्देशक साकार पन्त अष्ट्रेलिया उडेका थिए । फिल्ममा अभिनय समेत गरेका उनले दर्शकको मागअनुसार आफू अष्ट्रेलिया पुगेको बताएका छन् ।
उनले भने, ‘अष्ट्रेलियाका विभिन्न शहरमा फिल्म शो भैसकेको छ । फिल्मको प्रशंसा भइसकेको छ । त्यसैले पूर्वनिर्धारित भन्दा बढी शो थपिएका छन् । अझै केही साता शो निरन्तर रहन्छ ।’ उनले २२ डिसेम्बर बिहीबार मा अष्ट्रेलियाको क्विनल्याण्डस्थित गार्डेन सिटी टुवाम्बामा भएको शोमा दर्शकको उल्लेख्य उपस्थिति रहेको र फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेको जानकारी दिए ।
यसअघि डर्विन क्याथरिन र ब्रिसवेनमा शो भैसकेको फिल्मको यही २९ डिसेम्बरमा क्यानबेरा, ५ जनवरीमा सिड्नी र ८ जनवरीमा गोल्ड कोयस्ट र २२ जनवरीमा एडिलेडमा प्रदर्शन हुँदैछ । अष्ट्रेलियामा फ्युजन मिडिया प्रोडक्शनले प्रदर्शनमा साथ दिएको छ । त्यस्तै, अमेरिकामा फिल्मको माग बढेकाले २३ डिसेम्बरबाट टेक्ससमा दुई सातासम्म फिल्म प्रदर्शन सुरु भएको पन्तले बताए ।
‘विदेशमा ‘हिजो आजका कुरा’प्रति दर्शकमा देखिएको आकर्षणले अत्यन्तै खुशी लागेको छ,’ निर्देशक साकार भन्छन्, ‘अमेरिका, अष्ट्रेलिया झैं क्यानडा, युरोप, जापानसहित अन्य धेरै देशबाट फिल्मको डिमाण्ड आएको छ । हामी सकेसम्म धेरैभन्दा धेरै देशमा प्रदर्शन गर्ने तयारीमा छौं ।’ नेपालमा औसत व्यापार गरेको फिल्मले विदेश मोहले परिवारमा पर्ने प्रभावको कथा वाचन गरेको छ ।
.jpg)
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित यस फिल्मको कथा सन्तोष पन्त र पटकथा सन्दिप किस्नाले लेखेका हुन् । रवि सायमीले खिचेको फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा, स्वं. जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुँइकेल, अनुष्का अधिकारीलगायतको अभिनय छ ।

