
द्वन्द्व निर्देशक अष्ट महर्जनद्वारा निर्देशित पहिलो फिल्म ‘गुञ्जन’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक १ मिनेट ४५ सेकेन्ड लम्बाईको ट्रेलरमा त्रिकोणात्मक प्रेम देखाइएको छ । सारा सिर्पाली र प्रितमराज सेन्चुरीको प्रेम जीवनमा कबीर खड्काको ‘सरप्राइज’ प्रवेशपछि आउने विभिन्न उतार-चढाव र साराका खातिर प्रितम-कबीरबीचको टकरावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।
यस फिल्ममा सारा, प्रितम र कबीरसँगै सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतको अभिनय रहेको छ । प्रितमराजको यो डेब्यू फिल्म हो । हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म यही पुष २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
काठमाडौं, पोखरा, जोमसोम र दुबईमा खिचिएको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, करणराज कार्की, कल्याण सिंह र अर्जुन पोखरेलको संगीत छ । फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले गर्दैछ । लगातार असफलता भोगिरहेकी साराको करिअरका लागि ‘गुञ्जन’को सफलता अनिवार्य छ ।

