.jpg)
नेपालमा रिक्स जनरा मानिन्छ, हरर । यो जनरामाथि नेपाली फिल्मको इतिहास पल्टाएर हेर्ने हो भने नतिजा सुखद् छैन । यसको पछाडि विभिन्न कारण छन् । ‘हाँ हुँ’को ब्याकग्राउन्ड स्कोर, पात्रको अनुहारमा कालो र सेतो रंग पोतेर सेतो पहिरन लगाइदिएपछि दर्शक तर्सिन्छन् भन्ने मानसिकताले नेपालमा हरर फिल्म असफल हुँदै आएका छन् । यद्यपि, हरर फिल्म बन्न भने रोकिएको छैन ।
हरर जनरामाथि फिल्म बनाउन निर्माताले त खासै आँट गर्दैनन् नै, कलाकारहरुको पनि उत्ति रुचिमा पर्दैन । तर, अभिनेत्री बेनिशा हमालको रोजाईमा भने हरर जनरा परिरहेको छ । पछिल्लो पटक हरर फिल्म ‘घर’मा अभिनय गरेकी उनको नयाँ फिल्म ‘चि मुसी चि’ पुष २२ गतेबाट प्रदर्शन हुँदैछ । फिल्ममा उनीसँगै ऋचा शर्मा, प्रियंका कार्की, आयुष्मान देशराज जोशीको पनि अभिनय छ ।
लगातार हरर फिल्म गर्नुको कारण बेनिशालाई आफूले दर्शक तर्साउन सक्छु भन्ने विश्वास हो वा सौखको जनरा हो ? मंगलवार एक कार्यक्रममा पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्, ‘कलाकार भएपछि ‘एक्सपेरिमेन्ट’ गर्न मन लाग्छ । एकैखाले फिल्म गरिराखेको बेला फरक जनराबाट अफर आउँदा यो चाहिँ किन नगर्ने त भन्ने हुँदो रहेछ । किनकि, हरेक फिल्मले केही न केही सिकाउँछ ।’
अरु जनराभन्दा हरर फिल्ममा काम गर्न गाह्रो हुने उनको अनुभव छ । ‘मैले अनुभवका लागि ‘घर’ गरेको थिएँ । त्यसबेला महसुस भयो कि अरु फिल्मभन्दा काम गर्न हरर जनरामा एकदमै गाह्रो रहेछ,’ उनले सुनाइन्, ‘तर्साउने उद्देश्यभन्दा पनि क्यारेक्टरले के महसुस गरेको छ भन्ने महत्त्वपूर्ण हुने रैछ । त्यसैले हरर फिल्म गर्दा क्यारेक्टरमा बसेर कसरी राम्रो काम गर्ने भन्ने मात्र सोचिन्छ ।’

