Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सुनकेशरी’को भरपाई ‘चि मुसी चि’ हो : ऋचा शर्मा

फिल्मीखबर, काठमाडौं, 2022/12/21

reecha sharma

 

अभिनेत्री ऋचा शर्मा अभिनयसँगै फिल्म निर्माणमा पनि सक्रिय छिन् । ‘आधा लभ’, ‘सुनकेशरी’ फिल्मको उनले निर्माण गरेकी छन् । यसमध्ये ‘सुनकेशरी’ हरर जनराको थियो । ट्रेलर हेरेर दर्शक ठूलो अपेक्षासहित हल पुगेका थिए । तर, फिल्मले तर्साउनेभन्दा कमेडी फिल्मझैं हँसाउने काम गर्‍यो । ‘सुनकेशरी’लाई समीक्षकले ऋचाको करिअरको एउटा विर्सनलायक फिल्मको संज्ञा दिए ।

फिल्मलाई लिएर भएको टिका-टिप्पणीको विषयमा करिब चार वर्ष मौन बसेकी ऋचाले बिहीबार आफू अभिनीत हरर फिल्म ‘चि मुसी चि’को ट्रेलर रिलिज कार्यक्रममा ‘सुनकेशरी’मा भएको कमजोरी स्वीकार गरेकी छन् । ‘चि मुसी चि’ जस्तो फिल्म बनाउन खोजेको भए पनि अर्को बन्न पुगेको उनको स्वीकारोक्ति छ । यद्यपि, यो फिल्मबाट आफूले धेरै कुरा सिकेको ऋचा बताउँछिन् ।

उनी भन्छिन्, ‘जति पनि ‘सुनकेशरी’बाट निराश हुनुभयो, त्यसको भरपाई हो ‘चि मुसी चि’ । बनाउन खोजेको यस्तो फिल्म थियो, तर त्यस्तो बन्यो । यो वास्तविकता हो । म स्वीकार गर्छु कि मैले राम्रो फिल्म बनाउन सकिनँ । तर, केही छैन, त्यो एउटा खुड्किलो थियो । कुनै फिल्म हामीले राम्रो बनाउँछौं, कुनै फिल्म चाहेर पनि राम्रो बन्दैन । त्यही भएर पनि म यो फिल्ममा आबद्ध भएकी हुँ ।’

एउटा विन्दूमा ‘सुनकेशरी’लाई प्राप्त प्रतिक्रियाले आफूलाई नराम्रोसँग हल्लाएको उनी स्मरण गर्छिन् । त्यही बेला ‘चि मुसी चि’को अफर आएको र स्क्रिप्ट तथा टिम मन परेपछि काम गरेको उनको भनाई छ । यो फिल्म स्क्रिप्टभन्दा राम्रो बनेको उनी दाबी गर्छिन् । आफ्नो क्यारेक्टरले दर्शकलाई इन्टरटेन गर्छ भन्ने विश्वास भएपछि मात्र कुनै पनि फिल्ममा आबद्ध हुने गरेको उनी बताउँछिन् ।