(1).jpg)
नेपाली पोशाकलाई विश्वमा चिनाउन फिल्म ‘आमा’का सह-निर्माता तथा असाप इन्टरटेनमेन्टका सञ्चालक सन्तोष अधिकारीले क्रुज इभेन्ट आयोजना गरेका छन् । ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२’ नाम दिइएको कार्यक्रम आइतबार अष्ट्रेलियाको सिड्नीमा पहिलो पटक क्रुजमा आयोजना गरिएको हो । नेपाली पोशाकलाई विश्वमा पुर्याउन र चिनाउन क्रुज इभेन्ट गरेको सन्तोषले बताए ।
नेपाली डिजाइनर रोविन परियारले तयार पारेका पहिरनमा नेपालीका साथै ब्राराजिलियन र मोरक्कन मोडल र्याम्पमा हिँडेका थिए । कोरोना महामारीपछि पहिलो पटक आफूले ठूलो खर्चमा फेसन शोको आयोजना गरेको सन्तोषको भनाई छ । नेपाली पहिरनमा सजिएका विदेशी मोडललाई नेपाली पहिरन मन परेको र विश्व बजारमा प्रवर्द्धन गर्न सघाउने वचन दिएको उनले जानकारी दिए ।
हेरिटेज अफ फेसनको दुई सिजन नेपालमा र एक सिजन अष्ट्रेलियामा आयोजना भैसकेको थियो । यो शोका सञ्चालक अधिकारीले फिल्म ‘आमा’सँगै अर्पण थापाद्वारा निर्देशित फिल्म ‘तीन जन्तु’को पनि निर्माण गरेका छन् । उनी निर्माता रहेको नयाँ फिल्म ‘डलर एयुडी’को चाँडै अष्ट्रेलियामा छायांकन हुँदैछ । फिल्ममा अर्पण थापा, मेनुका प्रधान र निर्माता अधिकारीको मुख्य भूमिका रहनेछ ।

