
फिल्म ‘मंगलम’बाट अभिनयमा सम्भावना बोकेको अभिनेताको रुपमा उदाएका पुष्प खड्काको यस वर्षका लागि दोस्रो फिल्म ‘तिम्रो मेरो साथ’ यही पुष २९ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा उनको ‘लभ इन्ट्रेस्ट’ साम्राज्ञी राज्यलक्ष्मी शाह र इमिली लामा छन् । उनीहरुबीचको प्रेममा आउने विभिन्न उतार-चढावमा फिल्म केन्द्रित रहेको मंगलवार सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ ।
प्रेम र मित्रतामा अविश्वास र विश्वासघातको कथामाथि धेरै नेपाली फिल्म बनिसकेका छन् । यही परिफेरीमा फिल्म निर्माण हुन अझै रोकिएको छैन । ‘तिम्रो मेरो साथ’को ट्रेलर हेर्दा पनि यी कुराबाट फिल्म मुक्त नभएको देखिन्छ । तर, पुष्प फिल्मको कथावस्तु दर्शकलाई फरक लाग्ने दाबी गर्छन् । फिल्ममा लभको अर्को पाटोलाई देखाइएको र दर्शकलाई त्यो रोचक लाग्ने उनी बताउँछन् ।
उनी कथासार प्रष्ट्याउँदै भन्छन्, ‘ट्रेलर हेर्दा लभस्टोरी त देखिन्छ नै, तर लभस्टोरीमा पनि केही फरक छ । कुनै पनि चिजको राम्रो र नराम्रो पक्ष पक्कै हुन्छ । लभ भन्नसाथ रोमान्स, फिल, फन भन्ने बुझ्छौं, तर यसको नकारात्मक पक्ष पनि हुन्छ । र, फिल्ममा हामीले निभाएको क्यारेक्टरमा त्यसको रंग देखिन्छ । लभ छ तर त्यसमा स्वार्थ पनि छ । मित्रता छ र त्यसमा विश्वासघात पनि छ ।’
प्रेम शान्ति भए पनि त्यसमा विद्रोह हुने गरेको र त्यो पाटोलाई फिल्ममा प्रस्तुत गरिएको पुष्पको जिकिर छ । उनले केही फिल्ममा रोगी चरित्र निर्वाह गरेका छन् । ट्रेलर हेर्दा ‘तिम्रो मेरो साथ’मा पनि उनको चरित्र त्यस्तै देखिन्छ । यसबारेमा उनले प्रष्ट्याउँदै भने, ‘यो फिल्ममा रोगीको चरित्र छैन । एक किसिमको फस्ट्रेसन चाहिँ छ । फिल्ममा प्रेमको अर्को पाटोलाई देखाउन खोजिएको छ ।’

