.jpg)
राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘नम्बरी सुन’मा नायक फेरबदल भएका छन् । पहिला आमेश भण्डारी अनुबन्ध भएको फिल्ममा अब गौरव पहारी भित्रिएका छन् । मंगलवार गौरव र निर्माता नारायण खातीबीच कागजी सम्झौता भयो । आमेश बिना जानकारी अष्ट्रेलिया हानिएपछि निर्माताले गौरवसँग सम्झौता गरेका हुन् । फिल्ममा गौरवको जोडी नम्रता सापकोटासँग बाँधिनेछ ।
स्रोतका अनुसार, आमेशले अष्ट्रेलिया पुगेपछि आफू फिल्ममा काम गर्न नसक्ने जानकारी गराएका थिए । उनले फिल्म साइन गर्दा बुझेको पारिश्रमिकबापतको पेश्की रकम फिर्ता नगरी अष्ट्रेलिया उडेको गुनासो निर्माण पक्षले गरेको छ । माघ २० गतेबाट फ्लोरमा जाने यो फिल्ममा बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृती वली लगायतको पनि अभिनय रहनेछ ।
निर्देशक गिरीले ‘नम्बरी सुन’ झन्डै ७० वर्ष अघिको सामाजिक कथामा निर्माण हुन लागेको बताए । यो फिल्मबाट लामो समयपछि राजेन्द्र खड्गी द्वन्द्व निर्देशनमा कमब्याक गर्दैछन् । सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मको कथा तथा गीत निर्माता खाती स्वयंको हो । फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

