 01.jpg)
कलाकारको दिन कसरी फिर्छ भन्ने एउटा उदाहरणका पात्र हुन्, विपिन कार्की । सानोतिनो भूमिका हुँदै फिल्म ‘पशुपति प्रसाद’मा भष्मे डनको चरित्र निभाएपछि उनको दिन फिर्यो । त्यसबेलादेखि उनी निरन्तरता सफलताको सिढी चढिरहेका छन् । अभिनयमा अब्बल मानिने विपिन आफ्नो यही क्षमताका कारण अहिलेका सर्वाधिक डिमान्डेड मात्र छैनन्, सुन झैं महंगा समेत बनेका छन् ।
फिल्म ‘छड्के २’का लागि ४० लाख बढी पारिश्रमिक माग्नुले पनि उनको महंगाई बुझ्न सकिन्छ । उनले पारिश्रमिक चर्को बनाउनुमा फिल्मको कमी नहुनु मुख्य कारण हो । अहिलेको अवस्था हेर्दा झन्डै डेढ-दुई वर्ष उनी ‘प्याक’ भइसकेका छन् । एउटा फिल्मको छायांकन सक्नसाथ अर्को फिल्म साइन गरेर पाइपलाइनमा राख्ने गरेका उनी यतिबेला फिल्म ‘प्रसाद २’को सुटिङमा व्यस्त छन् ।
यसपछि उनले दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘भष्मे डन’मा काम गर्नेछन् । उनले दीपेन्द्रकै निर्देशनमा बन्ने फिल्म ‘चंगा चेट २’ पनि साइन गरेका छन् । माधव वाग्लेले निर्देशन गर्ने फिल्म ‘विवेक’ पनि उनको पाइपलाइनमा छ । त्यस्तै, दुई वर्ष अगाडि उनले ‘दुई रुपैयाँ’ टिमको फिल्म ‘डामाडोल’ साइन गरेका थिए । उनले फिल्म ‘महाजात्रा’मा पनि काम गर्ने निश्चित छ ।
विपिनले बलिउड फिल्म ‘एनिमल’ पनि साइन गरेका छन् । यसका लागि उनले महिनौं समय खर्च गरे । मुम्बई कयैन् पटक पुगे । तर, अहिलेसम्म उनको छायांकनको पालो आएको छैन । अब उनी आफ्नो समय मिले मात्र काम गर्ने मनस्थितिमा छन् । विपिनको पाइपलाइनमा फिल्मको ताँती हेर्दा अहिले उनका लागि स्वर्ण युग नै चलिरहेको छ । धेरै कलाकारका लागि यो एउटा सपना हो ।

