Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हरिवंशलाई स्क्रिप्ट कि प्रदीपप्रति विश्वास ?

फिल्मीखबर, काठमाडौं, 2022/12/19

pradeep bhattarai and haribansha acharya

 

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई निर्देशक प्रदीप भट्टराई आफ्नो विश्वविद्यालय मान्छन् । हुन पनि उनले निर्देशनको कखरा नै महजोडीबाट सिकेका हुन् । फिल्म निर्देशनमा डेब्यू गर्नुअघि उनले वर्षौं मह सञ्चारमा रहेर काम गरेका थिए । महजोडीको उनी दाहिने हात थिए । उनलाई मह सञ्चारबाटै फिल्म निर्देशनमा डेब्यू गर्ने इच्छा थियो । तर, विविध कारणले त्यो सम्भव हुन सकेन ।

प्रदीपले फिल्म ‘जात्रा’बाट निर्देशनमा डेब्यू गरे । फिल्म सफल भयो । यसपछि महजोडीको फिल्म ‘शत्रु गते’ निर्देशन गरे । यसमा उनले आलोचना खेपे पनि फिल्म राम्रो चल्यो । उनी निर्देशित तेस्रो फिल्म ‘जात्रै जात्रा’ पनि हिट भयो । उनले महजोडीलाई लिएर बनाएको चौंथो फिल्म ‘महापुरुष’ पनि हिट भएको छ । रोचक कुरा के छ भने प्रदीपका चारवटै फिल्मले ५१ दिन मनाएका छन् ।

आफ्नो चेलाको निर्देशन बनेको दुई फिल्ममा काम गरिसकेका मदनकृष्ण र हरिवंशलाई अब प्रदीपप्रति पूर्ण विश्वास छ । हरिवंश त आफूलाई स्क्रिप्टभन्दा प्रदीपप्रति विश्वास लाग्ने बताउँछन् । शनिबार ‘महापुरुष’को ५१औं दिने सेलिब्रेसन कार्यक्रममा पत्रकारले सोधेको प्रश्नमा कलाकार आचार्यले भने, ‘मलाई प्रदीप भट्टराईप्रति नै विश्वास लाग्छ । किनकि, स्क्रिप्ट त प्रदीप भट्टराईभित्रै छ नि ।’

फिल्म ‘दाल भात तरकारी’पछि मह सञ्चार फिल्म निर्माणमा सुस्ताउनुको कारणबारे पनि हरिवंश भन्छन्, ‘फेरि फिल्म निर्माणमा कोसिस गर्छौं । कुनै दिन बन्छ पनि होला । हामी त्यसरी निरन्तर फिल्म बनाइ पनि राख्दैनौं । ‘महापुरुष’ जस्तो राम्रो फिल्म खेल्न पाइन्छ भने अरु के चाहियो र !’ ‘महापुरुष’ जस्तो राम्रो फिल्ममा अभिनय गर्न पाएकोमा आचार्य आफूलाई भाग्यमानी ठान्छन् ।