Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डिसेम्बर फल्स’को ट्रेलर फिडब्याक : ‘आर्यन युग फेरि फर्किँदैछ’

फिल्मीखबर, काठमाडौं, 2022/12/18

aryan sigdel

 

एक समयका ‘नम्बर वान’ नायक आर्यन सिग्देलको करिब २ वर्षपछि फिल्म ‘डिसेम्बर फल्स’मार्फत् दर्शकसँग प्रत्यक्ष भेट हुँदैछ । पुष १५ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म आर्यनको करिअरका लागि जति विशेष र महत्त्वपूर्ण छ, त्यत्तिकै दर्शकहरु पनि उनलाई पर्दामा हेर्न व्यग्र छन् । एक्सन प्याक्ड टिजर र ‘फकाउनै जानिनँ’ गीतले फिल्मप्रति दर्शकको ध्यान तानिसकेको छ ।

यही बिहीबार फिल्मको ट्रेलर सार्वजनिक भयो । टिजरमा एक्सनलाई प्राथमिकता दिएकाले ट्रेलरमा फिल्मको कथासार प्रस्ट्याउन खोजिएको छ । युट्युबमा ट्रेलरलाई सकारात्मक प्रतिक्रिया मिलेको छ । औसत भ्यूजका बावजूद पनि ट्रेलरलाई दर्शकले ‘उत्कृष्ट’ भनेका छन् । कसैले उपासना सिंह ठकुरीको सुन्दरताको वर्णन गरेका छन् भने कसैले आर्यनको प्रशंसामा शब्द कोरेका छन् ।

एक युट्युब प्रयोगकर्ताले ट्रेलर हेरेपछि ‘आर्यन युग फेरि फर्किँदैछ’ भनेर प्रतिक्रिया जनाएका छन् । यो वाक्यले ठूलो अर्थ बोकेको छ । एक समय नेपाली फिल्ममा आर्यन युग थियो । उनका जुन फिल्म पनि सुपरहिट हुन्थ्यो । क्रेज र स्टारडम गजब थियो । तर, समयको बेगसँगै विस्तारै ती सबै कुरा स्खलित भए । ‘डिसेम्बर फल्स’ले आर्यन युग पुनः फर्काउने विश्वास ती प्रशंसकमा देखिन्छ ।

प्रवीण झा निर्देशित फिल्ममा आर्यन र उपासनासँगै सलोन बस्नेत, नरेश भट्टराई, शिवहरी पौडेल, सुमन थापा, शिशिर राणा, गीता अधिकारी, नागेन्द्र रिजाल, जयना कुँवर, सुमन थापा, सुमिन गुरुङ, किशन सुनुवारलगायतको अभिनय छ । ‘डिसेम्बर फल्स’को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्माणमा रामप्रसाद रिजाल र राजकुमार भट्टले सहकार्य गरेका छन् ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा विपिका खनालको कथा, केदार भुषाल तथा प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रविण सिंहको कोरियोग्राफी छ । फिल्मलाई सुनिल मानन्धरको कम्पनी श्रीराम बालाजी फिल्मस्ले देशभर वितरणको जिम्मा लिएको छ ।