Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

नेपालको पहिलो कार्बन न्यूट्रल फिल्म बन्दै ‘महापुरुष’

फिल्मीखबर, काठमाडौं, 2022/12/17

आज शनिबार प्रदर्शनको ५१औं दिन मनाउन सफल भएको यस वर्षको सुपरहिट फिल्म ‘महापुरुष’ नेपालको पहिलो कार्बन न्यूट्रल फिल्म बन्ने भएको छ । शनिबार काठमाडौंमा सफलताको खुसी साट्न आयोजना गरिएको कार्यक्रममा छायांकनदेखि रिलिजसम्म उत्सर्जन भएको कार्बनलाई न्यूनीकरण गर्न निर्माण टिमले सोलार प्लान्ट स्थापना वा वृक्षारोपणमध्ये एउटा काम गर्ने घोषणा गर्‍यो ।

फिल्मको प्रि-प्रोडक्सन, छायांकन, पोस्ट-प्रोडक्सन र रिलिजसम्म ६.४ टन कार्बन उत्सर्जन भएको र त्यसको न्यूनीकरण गर्न २६६ वटा रुख रोप्न वा कुनै ठाउँमा ११ किलोवाटको सोलार प्यानल जडान गर्न विज्ञले निर्मातालाई सुझाव दिएका छन् । निर्माण टिमले कार्बन उत्सर्जन कम गर्न विद्युतीय सवारी साधनको प्रयोग गरेको थियो । जसले गर्दा कार्बन उत्सर्जन ३ टन घटेको विज्ञले बताए ।

 

Mahapurush Nepali Film


निर्माता रविन्द्र सिंह बानियाँले फिल्म निर्माणको क्रममा उत्सर्जन कार्बन बराबर चाँडै वृक्षारोपण वा सोलर प्यानल जडानमध्ये एउटा काम गरिने जानकारी दिए । जलवायु परिवर्तनमा फिल्म मेकर पनि सचेत हुनुपर्ने उनको भनाई छ । कार्यक्रममा कलाकार हरिवंश आचार्यले आफूले चाँडै गाउँमा १५० वटा विरुवा रोप्न लागेको र त्यसका लागि हाल सिचाई व्यवस्थापनको काम भइरहेको बताए ।

शनिबार निर्माण पक्षले केक काटेर प्रदर्शनको ५१औं दिने खुसी पनि साट्यो । आगामी हप्ता वनभोज आयोजना गर्ने निर्माण टिमको योजना छ । ५१ दिनसम्ममा ११ करोडको व्यापार गरेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँलगायतको मुख्य भूमिका छ ।

 

अब ‘महाजात्रा’

‘महापुरुष’ प्रदर्शनकै समयमा निर्देशक प्रदीप भट्टराईले अबको प्रोजेक्ट ‘जात्रा’को तेस्रो सिक्वेल (महाजात्रा) हुने घोषणा गरेका थिए । शनिवार ‘महापुरुष’को ५१औं दिने सेलिब्रेसन कार्यक्रममा उनले यसपटक सुन र पैसाभन्दा फरक विषय उठान गर्न लागेको संकेत गरे । भट्टराईले ‘महाजात्रा’ पनि ‘महापुरुष’ झैं दर्शकको मन मस्तिष्कमा बस्ने गरी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।