
निर्माता फिरोज नाडियाडवाला यतिबेला दुई फिल्मको तयारीमा छन् । उनी चाँडै ‘हेरा फेरी ३’को छायांकन थाल्दैछन् भने यसपछि ‘वेलकम’को तेस्रो पार्ट पनि निर्माण गर्ने भएका छन् । सन् २००७ मा आएको ‘वेलकम’लाई फिरोजले निर्माण र अनीस बज्मीले निर्देशन गरेका थिए । फिल्म बक्स अफिसमा ब्लकबस्टर भएको थियो । त्यस्तै, ‘वेलकम ब्याक’ २०१५ मा प्रदर्शन भएको थियो ।
‘वेलकम’को तेस्रो पार्टबारे फिरोजले बलिउड हंगामासँग भनेका छन्, ‘फिल्मको नाम ‘वेलकम टू द जंगल’ हुनेछ । फिल्ममा कमेडी र मनोरञ्जन हुनेछ नै, साथमा एक मिलिट्री एक्सनको पृष्ठभूमिमा आधारित हुनेछ । फिल्ममा एक्सन जबर्जस्त देख्न पाइनेछ । हामी फिल्ममा सैन्य हेलिकप्टरको प्रयोग गर्नेछौं र पहिलो पटक भारतीय फिल्ममा वायुयान वाहकको उपयोग एक्सन दृश्यमा गरिनेछ ।’
निर्माता नाडियाडवालाले फिल्मको ६५/७० प्रतिशत हिस्सा जंगलमा छायांकन गरिने जानकारी दिए । अर्को वर्ष छायांकन सुरु गर्ने उनको योजनामा छ । घना जंगल भएको जम्मू, कश्मीर वा यूरोपका केही ठाउँमा फिल्मको छायांकन हुने उनले बताए । फिल्मको स्क्रिप्टदेखि अन्य महत्त्वपूर्ण कुरामा सम्झौता नगरिने उनको दाबी छ । अहिलेसम्म फिल्मका लागि कलाकार छनौट भएका छैनन् ।
उनले स्टारकास्टबारे भनेका छन्, ‘अघिल्ला दुई श्रृंखला झैं यसमा पनि ठूलो स्टारकास्ट हुनेछ । यसमा नायक मात्र होइन, नायिका पनि एक्सन गर्दै देखिनेछन् ।’ ‘वेलकम’मा अक्षय कुमार, कटरीना कैफ, अनिल कपूर, नाना पाटेकर, फिरोज खान, परेश रावल र ‘वेलकम ब्याक’मा नाना पाटेकर, अनिल कपूर, जोन अब्राहम, श्रुति हासन, नसीरुद्दीन शाह, डिम्पल कपाडियाको अभिनय थियो ।

