अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अहिलेका हटकेक हुन् । युवा वर्गमा दुवैको फ्यान फलोइङ गजब छ भने फिल्ममा माग पनि लोभलाग्दो छ । दुवैलाई आफ्नो काँधमा फिल्म बोक्ने सक्ने स्टारडम भएका कलाकारको रुपमा चित्रित गरिन्छ । अभिनयमा पनि सशक्त मानिने उनीहरुलाई एउटै फिल्ममा लिने धेरै निर्माताको चाहना छ । तर, केही मात्र सफल भएका छन् ।
पुष्प र साम्राज्ञीले पहिलो पटक नवल नेपाल निर्देशित फिल्म ‘मंगलम’मा काम गरे । यसमा साम्राज्ञीको केमियो भूमिका मात्र थियो । पुष्पसँग पर्दामा उनको भेट भएको थिएन । दोस्रो पटक पनि यो जोडीले नवलकै निर्देशनमा बनेको फिल्म ‘मारुनी’मा काम गर्यो । अब यी दुईले एकसाथ काम गरेको तेस्रो फिल्म ‘तिम्रो मेरो साथ’ पुष २९ मा प्रदर्शन हुँदैछ । यो फिल्म दुवैको आशा र भरोसा हो ।

गत भदौमा प्रदर्शनमा आएको फिल्म ‘कृष्ण लीला’को असफलताले पुष्पलाई ठूलो चोट परेको छ । त्यो चोट पुर्नका लागि भएपनि उनलाई ‘तिम्रो मेरो साथ’को सफलता अपरिहार्य छ । साम्राज्ञी पनि आफ्ना पछिल्ला दुई फिल्म ‘मारुनी’ र ‘रातो टीका निधारमा’को असफलताले आहात छिन् । हिट नायिकाको छविमा लागेको फ्लपको दाग मेट्न उनलाई ‘तिम्रो मेरो साथ’को सफलता जरुरी छ ।
हुनत, कुनै पनि फिल्म कलाकारका कारण हिट या फ्लप हुने भन्ने हुँदैन । यसमा विभिन्न तत्वले भूमिका खेल्छ । माहोल, प्रचार-प्रसार, वर्ड अफ माउथ, गीतसंगीत र ट्रेलरले सृजना गर्ने हाइपमा फिल्मको सफलता र असफलता निर्भर रहन्छ । ‘तिम्रो मेरो साथ’को सफलताका लागि पुष्प र साम्राज्ञीलाई यी कुराले साथ दिन आवश्यक छ । र, उनीहरु फिल्म सफल हुनेमा विश्वस्त छन् ।
रमेश एमके पौडेलद्वारा निर्देशित फिल्ममा सन्दिप क्षेत्री, खड्क बहादुर पुन, इमिली लामा, सरोज खनाल, दिपाशा विसीलगायतको अभिनय रहेको छ भने विशेष भूमिकामा कलाकार ध्रुव दत्तले अभिनय गरेका छन् । यो लभस्टोरी फिल्ममा निर्देशक पौडेलकै कथा लेखन, गीत रचना र निर्माण रहेको छ । सविर श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको पटकथा तथा संवाद उनले नै लेखेका हुन् ।

