Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यनका लागि हरेक फिल्म कमब्याक

फिल्मीखबर, काठमाडौं, 2022/12/16

एक समय लभस्टोरी फिल्ममा निर्विकल्प झैं मानिन्थे आर्यन सिग्देल । आजका दिनमा पनि उनी जति लभस्टोरी फिल्ममा जम्न सक्ने अभिनेताको जन्म नभएको विश्लेषण हुने गर्छ । तर, केही वर्षयता उनको करिअर असन्तुलित बनेको छ । आशा गरेका फिल्महरु नै असफल हुँदा उनको करिअर धरमराएको छ । यतिबेला उनलाई नेपाली फिल्ममा पुर्नजन्म दिने एउटा हिट फिल्मको खाँचो छ ।

पुष १५ गते उनी अभिनीत फिल्म ‘डिसेम्बर फल्स’ रिलिज हुँदैछ, जसमा उनको आशा, अपेक्षा र विश्वास अडिएको छ । सम्भवतः पहिलो पटक उनी पूर्ण विश्वासका साथ फिल्म राम्रो बनेको छ भन्दै दाबी गरिरहेका छन् । यसअघि उनलाई कुनै फिल्मप्रति यो हदसम्म आत्मविश्वासी देखिएको थिएन । यसैले उनी दर्शकले फिल्म मन पराउने र व्यवसायिक रुपमा सफल हुनेमा विश्वस्त छन् ।

 

aaryan sigdel


बिहीबार साँझ ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भने, ‘फिल्म एकदमै राम्रो बनेको छ । एउटा प्याकेजको कमर्शियल फिल्म हो । जस्तो फिल्ममा मलाई दर्शकले हेर्न चाहनुहुन्थ्यो, त्यस्तै फिल्म बनेको छ । म स्क्रिप्टदेखि पोस्ट प्रोडक्सनसम्म साथमै छु । फिल्म राम्रो बनाउने प्रयासमा कुनै कसर छाडेका छैनौं । मलाई धेरैपछि कुनै फिल्मप्रति विश्वास लागेको छ भने त्यो ‘डिसेम्बर फल्स’ हो ।’

करिब २ वर्षपछि उनको नयाँ फिल्म प्रदर्शन हुन लागेको हो । यसैले यो फिल्मलाई उनको कमब्याक भनिएको छ । तर, आर्यन आफ्ना हरेक फिल्मलाई कमब्याक मान्छन् । ‘मेरो लागि हरेक फिल्म कमब्याक हुन्छ । चार महिनापछि अर्को फिल्म आउँदैछ भने त्यसलाई पनि कमब्याक नै मान्नुपर्छ । यो फिल्मले राम्रो गर्‍यो भने मेरोभन्दा पनि फिल्मको चाहिँ कमब्याक हुन्छ,’ आर्यनले भने ।

उनले आफू निर्देशक नबन्ने पनि स्पष्ट पारेका छन् । एक पत्रकारले निर्देशक बन्ने योजनाबारे सोधेको प्रश्नमा उनले भने, ‘म निर्देशक बन्दिनँ । अहिलेसम्म त्यसबारेमा सोचेको छैन । म कलाकार नै ठीक छु ।’ प्रवीण झा निर्देशित ‘डिसेम्बर फल्स’मा आर्यनको जोडी अभिनेत्री उपासना सिंह ठकुरीसँग बाँधिएको छ । सलोन बस्नेत, शिवहरी पौडेल, नरेश भट्टराईको पनि यस फिल्ममा अभिनय छ ।