.jpg)
सुपरस्टार दयाहाङ राई र निर्माता किरण नेपालीबीच पुनः टिमअप भएको छ । यसअघि फिल्म ‘दुई नम्बरी’मा सफल सहकार्य गरेका उनीहरुको नयाँ फिल्म ‘हात्तीछाप’मा जुगलबन्दी भएको हो । बिहीवार निर्माता नेपाली र दयाहाङबीच सम्झौता पत्र आदान प्रदान भयो । टिमप्रति विश्वास र कथावस्तु राम्रो लागेका कारण आफू फिल्ममा काम गर्न राजी भएको दयाहाङले बताएका छन् ।
फिल्मलाई सिमोस सुनवारले निर्देशन गर्दैछन् । उनले दयाहाङलाई पहिलो पटक एक्सन-कट गर्न लागेका हुन् । फिल्मका लागि अन्य कलाकारको छनौट भने हुन बाँकी छ । निर्माण टिमले अर्को एक नायकका लागि सौगात मल्ल, विपिन कार्की र खगेन्द्र लामिछानेसँग कुरा अगाडि बढाएको छ भने अभिनेत्रीमा उपासना सिंह ठकुरीसँग कुराकानी भइरहेको विश्वस्त स्रोतको दाबी छ ।
प्रदीप भारद्वाजले फिल्मको कथा, पटकथा तथा संवाद लेखिरहेका छन् । उनले स्क्रिप्ट लेखनबापत १५ लाख बुझेको स्रोत बताउँछ । निर्माता नेपाली ‘दुई नम्बरी’पछि ‘पोई पर्यो बुढो’ बनाउने योजनामा थिए । तर, प्रदीपको कथा मन परेपछि उनी ‘हात्तीछाप’ बनाउन कसिएका हुन् । सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्मको छायांकन चैत्रबाट सुरु गर्ने योजनामा निर्माण पक्ष छ ।

