Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अन्ततः सुरु भयो ‘प्रसाद २’को छायांकन, विपिनको जोडी केकी

फिल्मीखबर, काठमाडौं, 2022/12/15

prasad 2 (bipin karki and keki adhikari)

 

अन्ततः ठूलो रस्साकस्सी र संघर्षपछि फिल्म ‘प्रसाद २’को छायांकन सुरु भएको छ । कहिले कलाकार र निर्देशक परिवर्तन हुने त कहिले छायांकन सेटमा पुगेर पनि विभिन्न विवाद उब्जिएपछि अस्तव्यस्त बनेको यो फिल्मको बिहीबार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै छायांकन थालिएको हो । करिब ४० दिनसम्म यही ठाउँमा फिल्मको छायांकन हुनेछ ।

सुदर्शन थापाले क्याप्टेनसिप सम्हालेको फिल्ममा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् । पहिला केकीको ठाउँमा अभिनेत्री नम्रता श्रेष्ठ थिइन् । तर, अर्को फिल्मसँग सेड्युल जुधेपछि उनी सहमतिमै बाहिरिइन् र केकी भित्रिएकी हुन् । केकीको प्रवेशपछि फिल्मको स्क्रिप्टलाई केही परिवर्तन गरिएको जानकारी प्राप्त छ । विपिन भने ‘प्रसाद’को पहिलो श्रृंखलामा पनि थिए ।

एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माता सुदर्शन बस्नेत र कार्यकारी निर्माता सुवास थापा हुन् । फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायत पनि कलाकारमा छन् । फिल्ममा राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको ध्वनी, राजनराज सिवाकोटीको गीतमा संगीत रहनेछ ।

फिल्मलाई रंग पत्रकार सुशिल पौडेलले लेखेका हुन् । २०७५ सालमा प्रदर्शित ‘प्रसाद’ सुपरहिट भएपछि यसको सिक्वेलको रुपमा ‘प्रसाद २’को निर्माण हुन लागेको हो । फिल्मको कथावस्तु उत्कृष्ट भएकाले यसको सिक्वेलले पनि अघिल्लो श्रृङ्खलाको जस्तै माया पाउने विश्वास निर्देशक सुदर्शन थापाले लिएका छन् । मुहूर्त सेटबाट प्राप्त तस्विरमा केकी र विपिन फरक गेटअपमा प्रस्तुत छन् ।