तेक्वान्दो खेलाडी समेत रहेका राजकुमार राईले सन् १९९९ मा प्रदर्शन भएको फिल्म ‘द कमाण्डो’बाट अभिनयमा डेब्यू गरेका थिए । यसबेलाको यो हिट फिल्म हो । राजकुमारको एक्सन शैलीले दर्शकलाई लोभ्याएको थियो । तर, यसपछि उनले पेशागत (ब्रिटिस आर्मी) कारण अभिनयलाई निरन्तरता दिन सकेनन् । ब्रिटिस आर्मीबाट अवकाश भएपछि उनी २४ वर्षपछि अभिनयमा फर्किए ।
राईको कमब्याक फिल्म ‘सोल अफ द कमाण्डो’ यही मंसिर २३ गतेबाट प्रदर्शनमा उत्रियो । उनी आफ्नो डेब्यू झैं कमब्याक पनि अत्यन्त सुखद् हुनेमा विश्वस्त थिए । तर, यो २४ वर्षको अवधिमा फेरिएको सिनारियो र नेपाली दर्शकको स्वाद उनले बुझ्न सकेनन् । एकातिर प्रचार-प्रसारमा चुक्नु र अर्कोतिर फिल्म आफैंमा कमजोर हुँदा ‘कमाण्डो’ हिरोको कमब्याक विर्सनलायक बनेको छ ।
शो चलाउन दर्शकको कोटा पनि नपुगेपछि प्रायः मल्टीप्लेक्सले प्रदर्शनको दुई/तीन दिनमै फिल्मलाई उतारे । केही मल्टीप्लेक्सले भने बिहीवारसम्म फिल्मलाई जेनतेन टिकाइदिएका छन् । तर, शुक्रवारबाट सिंगल र मल्टीप्लेक्स दुवै गुम्नेछ । किनकि, नेपाली बक्स अफिसमा हलिउडको ठूलो फिल्म ‘अवतार’को इन्ट्री हुँदैछ । जसले अग्रिम बुकिङबाटै आँधी ल्याउने संकेत गरिसकेको छ ।
त्यसो त मंसिर महिनामा रिलिज भएका कुनै नेपाली फिल्मले बक्स अफिसमा माखो मार्न सकेनन् । प्रदर्शन हुने फिल्मको संख्या मात्र बढ्यो । यो महिना फिल्म नचल्नुको दोष भने निर्वाचनको माहोल, चिसो मौसम र वर्ल्ड कपलाई दिइएको छ, जुन मेकरलाई चित्त बुझाउने बाटो मात्र हो । गतिलो प्रचार र फिल्म आफैंमा बलियो छ भने दर्शकलाई हल आउन केही र कुनै चिजले रोक्दैन ।

