
बलिउड अभिनेता विवेक ओबरोय एक हप्ताका लागि नेपाल भ्रमणमा आएका छन् । बुधवार उनी परिवारसँग नेपाल आएका हुन् । साँझ ६ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनलाई व्यवसायी पुनम यादवले नेपाली ढाकाटोपी लगाएर स्वागत गरेकी थिइन् । विवेक यादवकै आग्रह र पहलमा नेपाल आएका हुन् । उनीहरुबीच पारिवारिक सम्बन्ध समेत छ ।
विमानस्थलबाट निस्कने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै विवेकले पशुपतिनाथ र गौतमबुद्धको जन्मथलो लुम्बिनी घुम्ने बताए । नेपाल बसाईको क्रममा उनले सगरमाथा बेसक्याम्प र पोखराको पनि भ्रमण गर्नेछन् । गौशलास्थित होटल द्वारिकामा उनलाई बस्नका लागि चाँजोपाँचो मिलाइएको थियो । भोली विहान उनी परिवारको साथमा पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ ।
शुक्रवार उनी पोखरा प्रस्थान गर्नेछन् । त्यतैबाट उनी चार्टर हेलिकप्टरमार्फत् सगरमाथा बेसक्याम्प जाने सेड्युल छ । त्यसपछि उनी लुम्बिनी भ्रमणमा निस्कनेछन् । त्यहाँ हुन लागेको एक कार्यक्रममा पनि उनी सहभागी हुने जानकारी प्राप्त छ । पहिलो पटक नेपाल आएका उनले आफूलाई भारत र नेपाल भूगोल, संस्कृति, रितिरिवाज, रहनसहनका कारण उस्ता उस्तै लाग्ने बताएका छन् ।
एक समय बलिउडमा आफ्नो बलियो उपस्थिति जनाएका विवेक अभिनयमा अब्बल मानिन्छन् । तर, अभिनेता सलमान खानसँग मनमुटाव भएपछि उनी माथि उठ्न सकेनन् । त्यसपछि उनी अभिनयभन्दा व्यवसायमा सक्रिय हुन थाले । उनले भारतसँगै दुम्बईलगायतका देशमा होटल सञ्चालन गरेका छन् । उनी नेपालमा पनि होटल विस्तार गर्ने योजनामा रहेको जानकारी प्राप्त छ ।

