%20(2)(1).jpg)
निर्देशक निश्चल बस्नेतलाई सामाजिक सञ्जालले राम्रै दुःख दिइरहेको छ । करिब ५ वर्ष अगाडिको एक अन्तर्वार्तामा चर्चित पुराना कलाकारमाथि गरेको टिप्पणीको भिडियो क्लिप्स यतिबेला सामाजिक सञ्जालमा भाइरल बनाएर उनीमाथि गालीगलौज भइरहेको छ । यस्तैमा, काठमाडौंका मेयर बालेन शाह (बालेन्द्र) लाई नमस्कार नफर्काएको भन्दै अहिले उनी फेरि गालीको पात्र बनेका छन् ।
सामाजिक सञ्जालमा भाइरल भिडियोमा बालेनले निश्चललाई नमस्कार गरेका छन् तर निश्चलले बेवास्था गरेको देखिन्छ । नमस्कार गर्दा पनि नफर्काएर निश्चलले घमण्ड देखाएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरु उनीमाथि खनिएका छन् । यो भिडियोका कारण परिवार तथा साथीभाईबाट विभिन्न प्रश्नहरु आउन थालेपछि अन्ततः निश्चलले भिडियो पछाडिको वास्तविकता खोलेका छन् ।
निर्देशक बस्नेतले बुधवार फेसबुकमा इतिवृत्त उल्लेख गर्दै लेखेका छन्, ‘बालेनलाई मेयर बनाउन अभियन चलिरहेको बेलाको कथा हो यो । ‘चिसो एष्ट्रे’को प्रिमियरको समय । ७/८ महिना अगाडिको भिडियो हो, त्यही बेलाको इभेन्टको । बालेन र मेरो भेट अगाडि नै भएर सँगै थियौं, अरु चिनजान भएका साथी आउँदा उनले अरूलाई, मैले अरूलाई नमस्कार गरिरहेका थियौं । कथा सकियो ।’
बालेनलाई सम्मान नगरेकोले आफू सबैखाले घृणित टिप्पणीको हकदार रहेको भन्दै उनले आफूविरुद्ध गालीगलौज गर्नेलाई लक्षित गर्दै अगाडि लेखेका छन्, ‘सत्य के हो मतलब भएन । गाली गर्न पाएपछि पछि हट्नु हुन्न है ।’ पछिल्लो समय विवाद उब्जाउनकै लागि भिडियो छेडछाड गरी सामाजिक सञ्जालमा भाइरल बनाउने क्रम बढेको छ । जसको सबैभन्दा बढी मारमा सेलिब्रेटी छन् ।

