नेपाली फिल्म प्रायः हलमा लागेपछि मात्र डिजिटल प्लेटफर्ममा रिलिज हुने गर्छन् । तर, मन्दिप रानाद्वारा निर्देशित फिल्म ‘रिभेन्ज लभ’लाई हलमा नलगाई सिधै युट्युबमा रिलिज गरिने भएको छ । तमु ल्होसारको अवसरमा आगामी पुष १५ गते श्याम शुक्ला युट्युब च्यानलमा फिल्म रिलिज हुने निर्देशक रानाले जानकारी दिए । फिल्म रिलिजपूर्व बुधवार ट्रेलर सार्वजनिक गरिएको छ ।
पोखराका युवाहरुले मिलेर फिल्मको निर्माण गरेका हुन् । फिल्ममा काम गर्ने कलाकार तथा प्राविधिक सबै पोखराका हुन् । प्रेममा बदला र समर्पणको कथावस्तुमा निर्माण भएको फिल्ममा नविन घताने, देशभक्त सिंह कुँवर, विजय कुमार, अविराज विसी, अर्जुन गिरि, गीत सुनार, रोशनी सुनैना, सुस्मिता परियार, तुलसा क्षेत्री, लक्ष्मण रोका लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा द्वन्द्व निर्देशन, कोरियोग्राफी र लेखन निर्देशक राना स्वयंको हो । देशभक्त सिंह कुँवरको संगीत रहेको फिल्ममा छायांकन राहुल राई र सम्पादन नेत्र गुरुङ र अशोक आलेको छ । नविन घताने र श्याम शुक्ला फिल्म प्रोडक्सन निर्माता रहेको ‘रिभेन्ज लभ’को सह-निर्मातामा विजय कुमार, गीत सुनार र लक्ष्मी सुनार छन् ।

