यस वर्ष बैशाखदेखि कात्तिकसम्मको महिना नेपाली फिल्मका लागि सुखद् रह्यो । यो सात महिनामा अपेक्षित र अनपेक्षित दुवैखाले फिल्मले बक्स अफिसमा बाजी मारे । तर, मंसिर लागेसँगै नेपाली फिल्मको व्यापार चिसिएको छ । यो महिना प्रदर्शनमा आएका तीन/चारवटा नेपाली फिल्मले दर्शकको चर्को अभाव झेले । चुनाव, चिसो मौसम र वर्ल्डकपले गर्दा पनि व्यापारमा असर पर्यो ।
फिल्म ‘महापुरुष’ रिलिजपछि चिसिएको नेपाली बक्स अफिस अब हलिउड फिल्म ‘अवतार’ले तताउने देखिएको छ । शुक्रवारबाट नेपालमा प्रदर्शन हुन लागेको यो फिल्मलाई मल्टीप्लेक्सहरुले उपलब्ध गराएको शो संख्या र टिकट बुकिङको अवस्था हेर्दा नेपाली बक्स अफिसमा आँधीको संकेत गर्छ । बिहीवार (भोली) साँझसम्म मल्टीप्लेक्सहरुमा टिकट हाहाकार हुने अवस्था देखिएको छ ।

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले टूडी र थ्रीडी गरी ‘अवतार’लाई आफ्नो ११ वटा स्टेशनमा ८० शो उपलब्ध गराएको छ । यस वर्ष प्रदर्शन भएको साउथ फिल्म ‘आरआरआर’पछि क्यूएफएक्स चेनमा सर्वाधिक शोज पाउने ‘अवतार’ दोस्रो फिल्म हो । तर, नेपाली दर्शकले टूडीमा फिल्म हेर्न रुचि देखाएका छैनन् । थ्रीडीकै टिकट आक्रामक रुपमा विक्री भइरहेको छ ।
त्यस्तै, वान सिनेमाजले नयाँ बानेश्वर र कालिमाटी गरी दुई स्टेशनमा २१ शो, एफक्युब, आइएनआइ र सिनेप्लेक्स मुभिजले समान १२/१२ शो, बिग मुभिज, क्युज र बिएसआरले समान १०/१० शो, सिडिसी र रन्जना सिनेप्लेक्सले ८/८ शो र किर्तिपुर सिनेप्लेक्सले ४ शो बाँडेका छन् । ‘अवतार’का कारण मल्टीप्लेक्सहरुले प्रदर्शनरत नेपाली तथा विदेशी फिल्मको शोमा भारी कटौती गरेका छन् ।
मल्टीप्लेक्समा पाएको शो र आक्रामक बुकिङ हेर्दा ‘अवतार’ले नेपालमा डेढ करोडमाथि ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । यो फिल्मको पहिलो श्रृंखला करिब एक दशक अगाडि प्रदर्शनमा आएको थियो र ब्लकबस्टर भएको थियो । जेम्स क्यामरुन निर्देशित फिल्ममा सैम वर्थिङटन, जो साल्डाना, सिगौरनी वीवर, केट विन्स्लेट, स्टेफेन ल्याङलगायतका नामी कलाकारहरुको अभिनय छ ।

