Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(12 votes, avg 4.42/5.00)
Text size:-
+
-

‘भगवत् गीता’मा किन धिरज नै ?

फिल्मीखबर, काठमाडौं, 2022/12/14

नेपालीमा एउटा उखान छ, ‘घुमिफिरी रुम्जाटार’ । झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माणमा बन्न लागेको फिल्म ‘भगवत् गीता’को हकमा यो उखान दुरुस्तै मिल्छ । किनभने, दशैंभन्दा अगाडि मुख्य अभिनेताको अफर धिरज मगरलाई गरिएको थियो । तर, धिरजले चर्को पारिश्रमिक भनेपछि कुरा अगाडि बढेन । अन्ततः उनै धिरजको फिल्ममा सरप्राइज इन्ट्री भएको छ ।

धिरजले पहिला ४० लाख पारिश्रमिक मागेका थिए । अनमोल केसीलाई पनि यो रकम नतिरेका झरना र सुनिल धिरजलाई ४० लाख तिर्न कसरी तयार हुन्थे र ! यसपछि उनीहरु धिरजको विकल्प खोज्न थाले । अडिसन पनि आह्वान गरे । तर, फिल्मको कथाले मागेको जस्तो पात्र भने भेटेनन् । उता फिल्म ‘बाबरी’को असफलताले रन्थनिएका धिरजले फिल्ममा काम गर्न ‘ग्रिन सिग्नल’ दिए ।

 

vagwat geeta


दुई महिनाअघि पारिश्रमिकले भाँडिएको कुरा अन्ततः रातारात मिल्यो । धिरजलाई ‘बाबरी’ले दिएको असफलताको चोट पुर्न एउटा बलियो टिमको फिल्म चाहिएको थियो । र, ‘ए मेरो हजुर’ जस्तो सफल फिल्मको टिम नै उनलाई उपयुक्त लाग्यो । उता झरना र सुनिललाई मंगोलिन अनुहार नै चाहिएको थियो । यसरी हेर्दा उनीहरुबीच रातारात कुरा मिल्नुमा दुवै पक्षको स्वार्थ जोडिएको छ ।

धिरजलाई फिल्ममा साइन गराएपछि सन्तोषको सास फेरेका निर्माता थापालाई फिल्मीखबरले सोध्यो, ‘घुमिफिरी रुम्जाटार नै भयो है ?’ जवाफमा उनले हाँस्दै भने, ‘घुमिफिरी रुम्जाटार भन्दा पनि घुमिफिरी आफैं कुरा मिल्यो । हामीलाई मंगोलियन फेस भएकै नायक चाहिएको थियो । त्यसैले फिल्ममा धिरजको विकल्प नै थिएन । हामीले अरु खोज्ने प्रयास नगरेका पनि होइनौं, तर भेटेनौं ।’

के त्यसो भए अडिसन आह्वान नाटक थियो ? जवाफमा उनले भने, ‘हामी अडिसनबाट कलाकार लिन्छौं । बच्चा तीन जना लिँदैछौं, जसमा एकजना त फाइनल नै भैसकेको छ । बाँकी २ जना बाल कलाकार पनि चाँडै छान्छौं । फिल्ममा अर्को महत्त्वपूर्ण पुरुष पात्र पनि चाहिएको छ, त्यो पनि अडिसनबाट नै लिन्छौं ।’ यो लभस्टोरी फिल्ममा धिरजको जोडी अभिनेत्री सुहाना थापासँग बाँधिनेछ ।