हलिउड फिल्म ‘अवतार’ आगामी शुक्रवारबाट नेपालमा प्रदर्शन हुँदैछ । मल्टीप्लेक्सहरुले दिएको शो र आक्रामक बुकिङ हेर्दा यो फिल्मले नेपालमा रेकर्डतोड कमाई गर्ने देखिन्छ । यसैले यो फिल्मसँग भिड्न कुनै नेपाली फिल्मले आँट गरेका छैनन् । मंसिर २९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको फिल्म ‘सरी मम’ समेत ‘अवतार’को प्रभावलाई मध्यनजर गर्दै एक महिना पछाडि सरेको छ ।

सोमवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गर्दै आगामी माघ ५ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । कुलतमा परेको एक किशोर र त्यसले उसको परिवार र जीवनमा ल्याउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ । एनएफआई क्रियशनको ब्यानरमा निर्मित यो फिल्म लागुऔषध दुर्व्यसनीविरुद्ध निर्माण भएको हो । नविन बोगटी यस फिल्मका निर्देशक हुन् ।
ट्रेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकार सरिता लामिछानेले वर्षौंदेखि पर्दा पछाडि रहेर नेपाली फिल्मको लागि क्रियाशिल प्राविधिकहरूको टिमले तयार गरेको फिल्ममा मिहिनेत र सन्देश जोडिएको बताइन् । साथी संगतले एउटा किशोर कुलतमा फस्दा त्यसले सम्बन्धित परिवारमा र उसको जीवनमा निम्त्याउने परिस्थितिलाई फिल्मले सशक्त रुपमा प्रस्तुत गरेको उनको भनाइ छ ।

निर्माता विनोद लामाले नेपाली समाजको वास्तविक कथालाई टिपेर फिल्म निर्माण गरेको बताए । कथा लेखक समेत रहेका लामाले प्रदर्शनीपछि च्यारिटीमार्फत् लक्षित वर्गमा फिल्म पुर्याउने बताए । फिल्ममा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरवी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय छ ।
‘सरी मम’मा प्रज्वल श्रेष्ठ र नविन बोगटीको संगीत, दिर्घ गुरुङको छायांकन, प्रितम पाण्डेको सम्पादन, आयुष वुढाथोकी र सरोज पौडेलको लेखन छ । रोजिता तामाङ र सिनेटर खेमराज अधिकारी निर्माता रहेको यो फिल्मको निर्माण तथा प्रदर्शनीमा नेपाल जेसिज, नार्कोनान नेपाल, प्याब्सन, एन-प्याब्सन, हिसान, शिक्षक महासंघलगायतका प्रतिष्ठित संस्थाहरुले हातेमालो गरेका छन् ।

