
तीन दिनसम्म काठमाडौंमा आयोजित चौंथो ‘नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा फिल्म ‘वेलकम टु हेम्जाकोट’ले उत्कृष्ट फिल्मको अवार्ड जित्न सफल भएको छ । अवार्ड उचाल्न फिल्मका निर्देशक सरोज पौडेल स्टेज चढेका थिए । यो उनको पहिलो निर्देशकिय फिल्म हो । आफ्नो पहिलो फिल्मले नै अवार्ड प्राप्त गर्दा थप जिम्मेवारी थपिएको महसुस भएको उनले बताए ।
उनले भने, ‘फिल्ममा मिहिनेत गर्ने कलाकार, प्राविधिक सबैको सामुहिक प्रयासले यो सम्भव भएको हो । यो अवार्डले मलाई अझै काममा मिहिनेत गर्न र अघि बढ्न हौसला मिलेको छ ।’ महोत्सवमा ३४ देशका विभिन्न विधाका ७२ अन्तर्राष्ट्रिय फिल्म र नेपालका ३४ फिल्महरु सहभागी थिए । फेस्टिभलको उद्घाटन काठमाडौं क्षेत्र नं. ३ का नवनिर्वाचित सांसद सन्तोष चालिसेले गरेका हुन् ।
प्रदर्शन अनिश्चित रहेको ‘वेलकम टु हेम्जाकोट’मा विनोद न्यौपाने, बुद्धि तामाङ, शारदा गिरी, अम्बिका तामाङ, रवि गिरी, सुजैरा कार्की, अस्मिता पन्त, विशाल पहाडी, स्वं. जयनन्द लामा, सन्दिप सिग्देललगायतको अभिनय छ । तेजप्रसाद दाहालको प्रस्तुतिमा सुमन खड्का कार्यकारी निर्माता रहेको फिल्ममा जितेन्द्र गिरी निर्मातामा छन् । यो फिल्मको छायांकन दीर्घ गुरुङले गरेका हुन् ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रविण राई, रिता परियार, रमेश चापागाँई, सुदीप पोखरेल, सुनील पोखरेल, महेश प्रसाईँ, आइतराम तामाङ, सशांक खड्का, गोपाल सानु र युवराज कटुवाल सह-निर्मातामा छन् । मिलन श्रेष्ठको द्वन्द्व, मित्र डि गुरुङको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहेको यस फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

