
फिल्म ‘ए मेरो हजुर ३’ हिट भएपछि निर्देशक झरना थापाले आफ्नो फेसबुकवालमा अनमोल केसी र छोरी सुहाना थापासँगको एक तस्बिर राख्दै ‘विथ माई भगवत् गीता’ भनेर क्याप्सनमा उल्लेख गरेकी थिइन् । यसपछि फिल्म ‘भगवत् गीता’मा अनमोल र सुहाना पक्का भएको भन्दै मिडियामा ठूलो चर्चा भयो । तर, पछि झरनाले यो फिल्ममा नभइ ‘ए मेरो हजुर ४’मा उनीहरुको जोडी बाँधिन् ।
‘भगवत् गीता’का लागि झरनाको पहिलो रोजाई अनमोल नै थिए । तर, लगालग एउटै टिम र एउटै अभिनेत्रीसँग काम गरिसकेकाले अनमोलले उक्त फिल्ममा काम गर्न रुचि देखाएनन् । यसपछि झरनाले अभिनेता धिरज मगरलाई फिल्म अफर गरेकी थिइन् । तर, धिरजले सुरुमै ४० लाखभन्दा कममा फिल्म नगर्ने भनेपछि झरना विच्किइन् र उनको विकल्प खोज्न थालिनन् । तर, हिरो भेटिनन् ।
.jpg)
अन्ततः फिल्ममा धिरज नै भित्रिएका छन् । आइतवार निर्माण टिमले उनीसँग कागजी सम्झौता गर्यो । झरना र उनका श्रीमान् तथा निर्माता सुनिल कुमार थापाले फिल्ममा धिरज अनुबन्ध भएको तस्बिर फेसबुकमा राखेका छन्, जसमा फिल्म क्षेत्रका हस्तीहरुले बधाई दिएका छन् । त्यसमा अनमोल पनि पर्छन् । उनले निर्माता थापाको पोस्टको कमेन्टमा बधाई तथा शुभकामना लेखेका छन् ।
अनमोललाई रिप्लाई दिँदै निर्माता थापाले ‘धन्यवाद भाई’ भनेका छन् । त्यस्तै, अनमोलको कमेन्टको रिप्लाईमा अभिनेत्री करिश्मा मानन्धरले लभको इमोजी पोस्ट गरेकी छन् । ‘ए मेरो हजुर ४’पछि थापा समुहसँग अनमोलको सम्बन्ध चिसिएको हल्लालाई उनको बधाईले मत्थर बनाएको छ । अब भविष्यमा झरनाको टिमसँग उनको सहकार्य हुन्छ वा हुँदैन, त्यो भने पखाईको विषय बनेको छ ।

