अभिनेता धिरज मगरको नेपाली फिल्ममा जन्मदाता हुन्, रेनशा वान्तवा राई । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’बाट उनले धिरजलाई हिरोको रुपमा डेब्यू गराएकी थिइन् । त्यसअघि उनी युट्युबका लागि भ्लग बनाउँथे, जसबाट उनले युवापुस्तामा गजबको क्रेज बनाएका थिए । डेब्यू फिल्ममा स्वभाविक अभिनय गरेपछि धिरजले करिअर फर्केर हेर्नु परेको छैन । अहिले उनी डिमान्डेड छन् ।
धिरज अभिनीत दोस्रो फिल्म ‘बाबरी’ यस वर्षको असोजमा प्रदर्शनमा आएको थियो । तर, उनको स्टारडमको जादू बक्सअफिसमा देखिएन । फिल्म फ्लप सूचिमा सूचिकृत भयो । अब उनी अभिनीत फिल्म ‘आई एम ट्वान्टिवान’ प्रदर्शनको पखाईमा छ, जसलाई उनको जन्मदाता रेनशाले नै निर्देशन गरेकी हुन् । यो फिल्मबाट धिरजलाई ठूलो आशा र अपेक्षा छ, तर रिलिज भने अन्योल छ ।

‘बाबरी’ रिलिजपछि ‘आई एम ट्वान्टिवान’को रिलिज पर्खने वा नयाँ फिल्म साइन गर्ने भन्नेमा धिरज दोधार थिए । अन्ततः आइतवार उनले झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘भगवत् गीता’ साइन गरेका छन् । यो फिल्ममा उनको इन्ट्री सरप्राइज हो । किनकि, उनले ४० लाख पारिश्रमिक मागेपछि झरना उनको विकल्पको खोजीमा थिइन् । तर, रातारात फिल्ममा धिरज नै भित्रिए ।
धिरजको पारिश्रमिकबाट झरनालाई विच्काउने र पछि पारिश्रमिकमा सहमति गराउनेमा ठूलो हात रेनशाको छ भनिन्छ । धिरजले ‘बाबरी’ रिलिजको समयमा पत्रकारसँग भनेका थिए, ‘४० लाख पारिश्रमिक मागेको सत्य हो । तर, मैले होइन, मेरो टिमले ।’ उनले आफ्नो टिम भनेर रेनशालाई इंकित गरेका थिए । किनकि, पहिलो फिल्मदेखि नै उनी रेनशाको निर्देशकअनुरुप चलिरहेका छन् ।
‘बाबरी’ फ्लप भएपछि ४० लाख पारिश्रमिकले धिरजलाई गिज्याउन थाल्यो । रेनशा पनि आफ्नो हिरोको करिअरलाई संकटमुक्त बनाउन चाहन्थिन् । त्यसैले २ महिना अगाडि ४० लाख पारिश्रमिक भनेर झरनालाई तर्साएकी रेनशाले २ दिनमै धिरजलाई ‘भगवत् गीता’मा भित्राउन पूलको काम गरिन् । धिरजले पहिला मागेको पारिश्रमिकभन्दा केही कममा यो फिल्म सम्झौता गरेको बताइन्छ ।
धिरजलाई फिल्म अफर गर्न सबैभन्दा पहिला रेनशासँग भेट्नुपर्ने निकट स्रोत बताउँछ । उनले सबैकुरा मिलाएपछि मात्र धिरजसँग निर्माता/निर्देशकले भेट गर्न पाउँछन् । स्क्रिप्ट लिनेदेखि पारिश्रमिक मिलाउनेसम्म रेनशाले नै गर्छिन् । उनले काम गर्न ‘ग्रिन सिग्नल’ नदेखाए धिरजले फिल्म साइन नगर्ने बताइन्छ । यसैले धिरजलाई रेनशाले लगाम लगाएको घोडा बनाएको टिप्पणी हुने गरेको छ ।

