
अनगिन्ती विज्ञापनको निर्देशनपछि ‘दुई रुपैयाँ’बाट फिल्म निर्देशनमा फड्को मारेका निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद बनेका छन् । समानुपातिक मतअनुसार १३ सिट पाएको रास्वपाले शाहलाई मुश्लिम पुरुषतर्फ समानुपातिक सांसद बनाएको हो । रास्वपाले समानुपातिक सांसद छान्न प्राइमरी इलेक्सन गरेको थियो, जसमा उनले धेरै मत प्राप्त गरेका थिए ।
यसपटक प्रतिनिधि सभामा फिल्म क्षेत्रबाट सांसदको रुपमा उपस्थिति जनाउने शाह एक्ला हुन् । कांग्रेस, एमाले, माओवादी जस्ता ठूला पार्टीले प्रत्यक्षमा केही कलाकारलाई टिकट दिएको भए पनि कसैले जित निकाल्न सकेनन् । प्रदेशसभामा भने दुई फिल्मकर्मी (रोज राणा र मदुकुमार श्रेष्ठ) निर्वाचित भए । निर्देशक शाहले कला क्षेत्रका मुद्धालाई संसद्मा उठाउने प्रतिवद्धता जनाएका छन् ।
‘कर्कस’ नामक फिल्मको निर्माण समेत गरेका उनले ‘दुई रुपैयाँ’को सफलतापछि नयाँ फिल्म निर्माण गरेका छैनन् । उनले कोरोना महामारीभन्दा अगाडि फिल्म ‘डामाडोल’ बनाउने तयारी गरेका थिए । तर, अहिलेसम्म यो फिल्म निर्माणको कुनै सुरसार भएको छैन । अब समानुपातिक सांसद बनेका शाहले फिल्म निर्देशनलाई निरन्तरता दिन्छन् वा दिँदैनन्, त्यो भने भविष्यले नै बताउनेछ ।

