Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

हेलिकप्टर चार्टर गरेर ‘डिसेम्बर फल्स’को सुटिङ, खर्च १० लाख बढी

फिल्मीखबर, काठमाडौं, 2022/12/11

aryan sigdel

 

आगामी पुष १५ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘डिसेम्बर फल्स’को कोरोना महामारीका कारण लामो समय केही प्रतिशत छायांकन अड्किएको थियो । दशैंअघिबाट फिल्मको बाँकी छायांकन थालियो । योबीचमा दुई गीत र क्लाइमेक्स खिचिए । प्रदर्शन मिति नजिकिँएसँगै निर्माण टिमले फिल्मको अन्तिम दृश्य शनिवार तिब्बतसँग जोडिएको नेपालस्थित लाङटाङ पुगेर खिचेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज, लाङटाङ लिरुङ हिमाल, गोसाइँकुण्ड जस्ता पर्यटकीय गन्तव्यले प्रख्यात लाङटाङमा छायांकनका लागि निर्माताले पूरै यूनिटलाई हेलिकप्टर चार्टर गरेर लगेका थिए । एक दिनको छायांकनका लागि हेलिकप्टर चार्टरसहित १० लाखभन्दा बढी खर्च भएको निर्माता रामप्रसाद रिजालले जानकारी दिएका छन् । योसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको उनले बताए ।

फिल्म निर्माणमा निर्माता रिजालले खर्चमा मुठ्ठी कसेका छैनन् । क्लाइमेक्स होस् वा दुई हप्ता अगाडि युट्युबमा सार्वजनिक भएको ‘फकाउनै जानिनँ’ गीत तयार गर्न उनले पैसाको खोलो बनाएका थिए । गीतमा मात्र ३० लाख बढी खर्च गरिएको थियो । रिजाल खर्च गरेअनुसार फिल्म स्तरीय बनेको दाबी गर्छन् । दर्शकलाई फिल्मले लभस्टोरी र एक्सनमा नयाँ स्वाद दिने उनको विश्वास छ ।

नेपाली मुलका भारतीय निर्देशक प्रविण झाको निर्देशनमा बनेको फिल्ममा बलिउड छायाँकार महेश आर गुप्ताको छायांकन छ । फिल्ममा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन् । फिल्मको मूल कथा उनीहरुमा केन्द्रित छ । फिल्ममा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणाको पनि अभिनय रहेको छ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् । विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्ले देशभर वितरण गर्दैछ ।