Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्डको रमिता : पहिला विश्वकप देखाउन कोड दिने, अहिले नदेखाउन चेतावनी

अन्जान दाहाल, काठमाडौं, 2022/12/09

अभिनेता भुवन केसी र विवाद पर्याय जस्ता बनेका छन् । उनी जे गर्छन्, विवाद उब्जन सुरु भइहाल्छ । चलचित्र विकास बोर्डको अध्यक्ष पाउन रातारात नेपाली कांग्रेस प्रवेश गरेका भुवन आफ्नो उद्देश्यमा सफल त भए तर अध्यक्ष भएपछि बोर्डको चम्किलो भवनले समेत उनलाई विवादित हुनबाट छेक्न सकेको छैन । विवाद पनि फिल्मको सिरिज झैं हप्ता र महिनैंपिच्छे आइरहेका छन् ।

अध्यक्षमा नियुक्त भएको केही हप्तामै उनीविरुद्ध सर्वोच्च अदालतमा रिट पर्‍यो । त्यसपछि ‘प्रेमगीत ३’को हिन्दी डबको विषयमा भएको विवाद त घाम जस्तै छर्लङ्ग छ । सेन्सर सिफारिस व्यवस्थित गर्न प्रदर्शनको एक हप्ता अगावै सेन्सर सिफारिस लिनुपर्ने निर्णयले पनि उनी प्रदर्शक र वितरकको आँखाको तारो बने । यसबीच, अध्यक्ष भुवन केसी फेरि विवादको भूमरीमा फसेका छन् ।

 

bord


शुक्रवार दिउँसो अध्यक्ष केसीले हलहरुले विश्वकपका खेल देखाए कारवाही गर्ने भन्दै पत्र काटेपछि विवाद सुरु भएको हो । गत ३० नोभेम्बरमा बोर्ड मातहतकै बक्सअफिस विभागले इमेलमार्फत् विश्वकप देखाउनका लागि प्रदर्शकहरुलाई वितरण र मुभी कोड पठाएको थियो । तर, शुक्रवार अध्यक्ष केसीले विश्वकप नदेखाउन भन्दै चेतावनी पत्र काटेपछि बोर्डको दोहोरो चरित्र खुलेको हो ।

वितरण र मुभी कोड पठाउनु भनेको विश्वकप देखाउन कानुनी रुपमै स्वीकृति दिनु हो । बोर्डले विदेशी फिल्मसरह टिकट मूल्यमा विश्वकप देखाउन हलवालालाई आग्रह गरेको जानकारीमा छ । तर, बोर्डकै अंगले विश्वकप देखाउन अनुमति दिँदै वितरण र मुभी कोड पठाएको १० दिनमै अध्यक्ष केसीले विश्वकप देखाए कारवाही गर्ने चेतावनी दिएपछि प्रदर्शकहरुको रिसको सीमा नाघेको छ ।

हल सञ्चालक र वितरकको छाता संस्था नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले बोर्डको निर्देशन नमान्ने बताएका छन् । पहिला विदेशी फिल्मसरह कर बुझाएर विश्वकप देखाउन अनुमति दिएको बोर्डले अहिले आएर नदेखाउन चेतावनी दिनु मान्य नभएको उनको भनाई छ । विश्वकप देखाउँदा आउने जुनसुकै परिस्थितिको सामना गर्न आफूहरु तयार रहेको महर्जनले बताए ।