Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सारिका घिमिरे : हिरोइनमा चलिनन्, गायनमा सफलता

फिल्मीखबर, काठमाडौं, 2022/12/09

Sarika Ghimire

 

फिल्म क्षेत्रमा स्थापित हुन ‘लक’ले पनि साथ दिनुपर्छ भनिन्छ । फिल्म हिट भएर गुमनाम हुनुपरेका तर फिल्म डिजास्टर भएर पनि रातारात चम्केका कलाकारहरु हेर्दा भाग्यप्रति विश्वास गर्न करै लाग्छ । तर, मिहिनेत, धैर्यता र लगनशिलता विना कुनै क्षेत्रमा पनि सफलता असम्भव नै छ । केहीको हकमा भने यी सबथोकका बावजूद पनि सफलता मिल्नु भनेको आकाशको फल झैं हुने गर्छ ।

अभिनेत्रीको रुपमा मिहिनेत गरेर पनि ‘लक’ले साथ नदिँदा गुमनाम हुने पात्र मध्येमा पर्छिन्, सारिका घिमिरे । ‘आगो २’, ‘परिणाम’, ‘हत्याकाण्ड’ लगायतका आधा दर्जन फिल्ममा अभिनय गरिसकेकी उनले आफूलाई अभिनेत्रीको रुपमा स्थापित गर्न सकेकी छैनन् । पछिल्लो केही वर्षयता उनी फिल्म अभिनयमा सक्रिय पनि छैनन् । बरु, उनले आफूलाई गायिकाको रुपमा स्थापित गरेकी छन् ।

उनको स्वरवद्ध ‘ऐसेलुको पात’, ‘रातो गलबन्दी’, ‘हेल्लो’, ‘दिलको गलबन्दी’, ‘घिन्ताङ घिन्ताङ’ जस्ता गीत लोकप्रिय छन् । बिहीवार सार्वजनिक भएको फिल्म ‘तिम्रो मेरो साथ’को ‘जोश छ जवानीको’ गीतमा पनि उनको आवाज छ । उनले पहिलो पटक फिल्मको गीतमा आवाज दिएकी हुन् । गायनमा सफलताको सिढी चढिरहेकी उनको हिरोइनको रुपमा चिनिने सपना भने अधुरै बनेको छ ।

हुनत, उनको करिअरको सुरुवात नै गायनबाट भएको थियो । तर, गायनमा जम्न नसकेपछि उनी अभिनयतिर होमिइन् । फिल्ममा पनि सफलता नमिलेपछि गायनलाई नै निरन्तरता दिएकी उनले केही सफल गीतबाट आफूलाई गायिकाको रुपमा चिनाउन सफल भएकी छन् । अब उनी फेरि फिल्म अभिनयमा सक्रिय हुन्छिन् वा गायनलाई नै अगाडि बढाउँछिन्, त्यो समयसँगै देखिँदै जानेछ ।