Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.80/5.00)
Text size:-
+
-

फिल्ममा बोल्ड देखिने साम्राज्ञीको रहर कि मेकरको इच्छा ?

फिल्मीखबर, काठमाडौं, 2022/12/09

पर्दामा होस् वा बाहिर, साम्राज्ञी राज्यलक्ष्मी शाहले बोल्ड अभिनेत्रीको छवि बनाएकी छन् । फिल्म ‘रातो टीका निधारमा’लाई छाड्ने हो भने अन्य फिल्ममा उनी बोल्ड अवतारमा नै प्रस्तुत भएकी छन् । र, आगामी पुष २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तिम्रो मेरो साथ’मा पनि उनलाई बोल्ड अवतारमै देख्न पाइनेछ । टिजर र बिहीवार रिलिज भएको नयाँ गीत हेर्दा त्यो बुझ्न सकिन्छ ।

फिल्ममा बोल्ड देखिने साम्राज्ञीकै रहर हो वा मेकर नै त्यो चाहन्छन् ? बिहीवार गीत रिलिज कार्यक्रममा उनले बोल्ड देखिने आफ्नो रहर नभएको स्पष्ट पारिन् । उनले भनिन्, ‘फिल्ममा बोल्ड रुपमा प्रस्तुत हुने मेरो रहर होइन । स्क्रिप्ट नै त्यसरी आउँदो रहेछ । यो फिल्ममा त्यस्तो बोल्ड त छैन । तर, मेरो आवाज र व्यक्तित्वले गर्दा पनि हुनसक्छ । र, अरुले हेर्ने नजरमा पनि फरक पर्न सक्छ ।’

 

Samragyee RL Shah


‘तिम्रो मेरो साथ’मा साम्राज्ञीको अभिनेता पुष्प खड्कासँग जोडी बाँधिएको छ । पहिला यो फिल्ममा अभिनेता पल शाह अनुबन्धित भएका थिए । तर, उनले पछि हात झिकेपछि उनको ठाउँमा पुष्प भित्रिएका हुन् । पुष्प र साम्राज्ञीले यसअघि ‘मारुनी’ र ‘मंगलम’ (साम्राज्ञीको केमियो) मा एकसाथ काम गरेका थिए । संयोगबस्, यो जोडीलाई तेस्रो पटक पनि एकसाथ काम गर्ने सौभाग्य जुर्‍यो ।

साम्राज्ञीले आफ्नो करिअरमा दोहोर्‍याएर काम गरेको पुष्पसँग मात्र हो । ‘तिम्रो मेरो साथ’मा नायक परिवर्तनको बारे अनविज्ञ रहेकी उनले पुष्पसँग पुनः काम गर्न पाउँदा सजिलो भएको अनुभव साट्छिन् । उनी भन्छिन्, ‘पुष्पसँग काम गर्न पाउँदैछु भन्ने सुन्दा खुसी भएको थिएँ । एउटै कलाकारसँग हत्तपत्त दोहोर्‍याएर काम गर्न पाइन्न । पुष्पसँग पुनः काम गर्न पाउँदा रमाइलोसँगै सजिलो भयो ।’

बिहीवार ‘जोश छ जवानीको’ गीत रिलिज कार्यक्रममा साम्राज्ञीको नृत्यको फिल्मका मुख्य कलाकार सन्दिप क्षेत्रीले खुलेर प्रशंसा गरेका थिए । साम्राज्ञीप्रति बनाइएको सोकल्ड अवधारणालाई उनले ध्वस्त पारेको भन्दै क्षेत्रीले उनलाई निष्ठावान सुन्दरीको संज्ञा दिए । उनले भने, ‘यो गीतमा तपाईं हट मात्र देखिनुभएको छैन, तपाईंभित्रको नृत्यलाई यसरी देखाइएको छ, जुन प्रशंसनीय छ ।’