
भाइटीकाको भोलीपल्ट अर्थात् कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’पछि केही नयाँ नेपाली फिल्म प्रदर्शनमा त आए, तर बक्सअफिसमा खासै प्रभाव देखाउन सकेनन् । बढ्दो चिसो मौसम र वर्ल्ड कपको ज्वरोका कारण फिल्म चल्न नसकेको विश्लेषण गरिएको भएपनि दर्शकबाट बलियो ‘वर्ड अफ माउथ’ कमाउन नसक्दा व्यापार दयनीय भएको चाहिँ यथार्थ पाटो हो ।
यसबीच, आज शुक्रबारबाट फरक विषयवस्तुमा बनेका दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । सामाजिक विषयवस्तुमा बनेको फिल्म ‘डेसान’ र एक्सन जनरामा निर्मित फिल्म ‘द सोल अफ कमाण्डो’ले एकसाथ प्रदर्शन थालेका हुन् । मल्टीप्लेक्सहरुमा औसत शो हात पारेका यी दुई फिल्मले सिंगल थिएटर लगभग बराबरी पाएका छन् । यी दुई फिल्मसँग विदेशी फिल्म भने भिडेका छैनन् ।
युवराज (वीरबहादुर) राई निर्देशित ‘द सोल अफ कमाण्डो’मा राजकुमार राई, शिशिर वाङ्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रूपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बू, पूर्ण लिम्बू, कमला खापुङ लिम्बू, सुस्मिता लिम्बू, एन्जल राई, सोनिका राईको अभिनय छ । फिल्ममा मिलन राई, रवि थापा र धन लिम्बू निर्माता तथा विजय एल राई कार्यकारी निर्मातामा छन् ।
त्यस्तै, कमल एक्चै मगर निर्देशित ‘डेसान’मा नम्रता सापकोटा, भोलाराज सापकोटा, निशान चौहान, पुनम थापा, मलिका बस्नेत, कविता आलेलगायतको अभिनय रहेको छ । कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्ममा राजु काउचाको कथा, निर्देशक मगरको पटकथा तथा संवाद, चक्रबहादुर महर्जनको छायांकन, अजय स्याङतेनको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ ।

