.jpg)
यस वर्ष प्रदर्शित फिल्म ‘कृष्ण लीला’ अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको अफेयर र पुष्पले फिल्म नचले पारिश्रमिक फिर्ता गर्ने घोषणाका कारण चर्चामा रह्यो । यी दुई मसला रिलिजभन्दा अगाडि फिल्मलाई प्रचारमा ठूलो काम लाग्यो । तर, फिल्म रिलिजपछि यी दुवै कुरा सेलाए । अहिले न पुष्प र श्रद्धाको अफेयरको चर्चा हुन्छ न पुष्पले पारिश्रमिक फिर्ता गरेको सुनिएको छ ।
‘कृष्ण लीला’ वर्षकै फ्लप फिल्म बन्यो । के पुष्पले फिल्म नचले पारिश्रमिकको केही प्रतिशत फिर्ता गर्ने वचन पूरा गरे त ? बिहीवार फिल्म ‘तिम्रो मेरो साथ’को गीत रिलिज कार्यक्रममा सोधिएको प्रश्नमा उनले इमानदारिता प्रस्तुत गरे । उनले निर्मातालाई आफूले लिएको पारिश्रमिकको ३३ प्रतिशत रकम फिर्ता गर्ने घोषणा गरे । उनले ‘कृष्ण लीला’मा बुझेको पारिश्रमिक भने खुलाउन चाहेनन् ।
खड्काले भने, ‘हो, मैले फिल्म नचले पारिश्रमिकको केही प्रतिशत फिर्ता गर्छु भनेको थिएँ । त्यसपछिको कुरा मिडियामा ल्याइएको छैन । रोहित (कट्टेल) दाई (निर्माता) सँग केही कुरा भएको थियो । मैले केही पारिश्रमिक लिन बाँकी छ । म पारिश्रमिकको ३३ प्रतिशत फिर्ता गर्छु ।’ उनले यो कुरा पूरा गरे फिल्म नचलेका कारण पारिश्रमिक फिर्ता गर्ने उनी पहिलो नेपाली अभिनेता हुनेछन् ।
नेपाली अभिनेताहरुमा पारिश्रमिक चर्को लिने होडबाजी नै छ । जसले गर्दा नेपाली फिल्मको निर्माण लागत ह्वात्तै बढेको छ । तर, पारिश्रमिक चर्को लिने कलाकारले फिल्म नचलेपछि पारिश्रमिक फिर्ता गर्नु त टाढाको कुरा असफलताको दोष लिन समेत तयार हुँदैनन् । तर, पुष्पले फिल्म नचले पारिश्रमिकको केही प्रतिशत रकम फिर्ता गर्छु भन्ने घोषणा गर्नु आफैंमा सकारात्मक कुरा थियो ।

