
दुई वर्षअघि घोषणा भएको फिल्म ‘चिलगाडी’ कोभिडका कारण निर्माण हुन सकेको थिएन । अब भने फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्माता रघुनाथ सापकोटा जुटेका छन् । फिल्मको घोषणा हुँदा निर्देशकमा जनकदीप पराजुली थिए । तर, उनले आफ्नो कार्यव्यस्तताका कारण नभ्याउने भएपछि ‘चिलगाडी’ उडाउने जिम्मा फिल्म ‘मन्त्र’का निर्देशक खिलबहादुर गुरुङले पाएका छन् ।
बिहीवार निर्माता सापकोटा र निर्देशक गुरुङबीच कागजी सम्झौता भएको हो । पेशाले रंग पत्रकार रहेका सापकोटाले गुरुङको फिल्म ‘मन्त्र’ रिलिजको बेला मिडिया को-अर्डिनेटरको रुपमा ठूलो सहयोग गरेका थिए । यही फिल्मबाट उनीहरुबीच राम्रो सम्बन्ध कायम भएको थियो । अन्ततः उनै गुरुङलाई सापकोटाले आफ्नो दोस्रो फिचर फिल्मको निर्देशन गर्ने जिम्मेवारी सुम्पिएका छन् ।
निर्देशक फाइनल भएसँगै अब कलाकार छनोटको कार्य सुरु हुने निर्माता रघुनाथले जानकारी दिए । फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । आगामी माघबाट छायांकन सुरु हुने फिल्मलाई सागर प्रधानले खिच्नेछन् भने अर्जुन पोखरेलको गीतमा संगीत रहनेछ । सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुन लागेको फिल्म हास्य प्रधान हुने निर्देशक गुरुङ बताउँछन् ।
‘चिलगाडी’ले युवापुस्ताको प्रतिनिधित्व गर्दै महत्त्वपूर्ण सन्देश दिने निर्माता सापकोटाको भनाई छ । नेपाली समाजको कहालीलाग्दो तथा यथार्थ पाटोलाई फिल्मले सशक्त रुपमा प्रस्तुत गर्ने उनी बताउँछन् । ‘चिलगाडी’लाई हवाई जहाज भन्ने गरिन्छ । नामबाट पनि फिल्मको कथासार धेरथोर बुझ्न सकिन्छ । सापकोटाको प्रोडक्सन हाउस सेलिब्रेटी नेपालको ब्यानरमा यो फिल्म निर्माण हुनेछ ।

